आगामी तीन दिन मध्यम वर्षा हुने 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

आगामी तीन दिन मुलुकका अधिकांश स्थानमा हल्का देखि मध्ययम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय भएपछि अहिले पनि मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि अधिकांश स्थानमा मेघगर्जन सहितको वर्षा हुने सम्भावना रहेको मौसमविद पौडेलको भनाई छ । भोली र आइतबार पनि देशैभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


प्रतिक्रिया