नारायणगढमा रोपाइँ जात्रा (फोटो फिचर) 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | चितवन

कृष्ण जन्माष्टमीका दिन चितवनको नारायणगढमा रोपाइँजात्रा निस्कने गर्दछ । नेवार समुदायले निकाल्ने यो जात्रा रोपाइँ सकिएपछिको रमाइलोका रुपमा आयोजना हुने गरेको छ । तनहुँ बन्दिपुरमा यो जात्रा निकाल्ने परम्परा छ ।

बन्दिपुरबाट नारायणगढ बसाइँ सरेर आएका नेवार समुदायले यो जात्रालाई यहाँ पनि निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरुमा सामूहिक रुपमा नारायणी कलामिन्दरले जात्रा निकाल्ने गर्दै आएको छ । स्थानीयका अनुसार ३४/३५ साल तिर त जात्रा नै निस्कन छाड्यो । अनि त्यो बेला उद्योग वाणिज्य संघको पहलमा बैठक बस्यो ।

लाखे नाच उद्योग वाणिज्य संघले गर्ने, बाघजात्रा राइनो क्लबले गर्ने र रोपाइँजात्रा नारायणी कलामिन्दरले गर्ने भन्ने निर्णय भएको नारायणगढका पुराना बासिन्दा गणेशकुमार विपनाले बताए । कलामन्दिरले ५४ सालदेखि प्रत्येक वर्ष रोपाइँ जात्रा निकाल्दै आएको छ ।

कलामन्दिरले विभिन्न संघ संस्था र व्यक्तिहरुसँग सहयोग जुटाएर रोपाइँ जात्रा निरञ्तर गर्दै आएको कलामन्दिरका कार्यबहाक अध्यक्ष उद्धव जोशीले बताउनुभयो । जात्रामा बालबालिकाहरु कृष्णको भेषमा सहभागी हुन्छन् । पाका व्यक्तिहरु रोपाइँ गर्दा जे जति गतिविधि हुन्छ, त्यसैको अभिनय गरेर रमितेहरुलाई सकेसम्म हसाउँन खोज्छन् । जात्रा निकाल्दा एकजना कर्ता भने अनिवार्य हुन्छ । जो चोखो रहेर पूजा र जात्राको समापन गर्छ । 


प्रतिक्रिया