धौवादी फलाम खानीमा कारखाना स्थापना गरिने

भाद्र ७, २०७६ | नवलपरासी

सरकारले पूर्वी नवलपरासीको हुप्सेकोटा गाउँपालिका ५ धौवादीमा रहेको फलाम खानीबाट फलाम निकाल्न प्रकृया अघि बढाएको छ । गत बुधवारको मन्त्रिपरिषदको बैठकले धौवादी फलाम खानी लिमिटेड बनाउने नीतिगत निर्णय गरेसंगै फलाम निकाल्ने कामको विधिवत शुरुवात भएको हो ।

खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटाले कारखाना स्थापनासँगै फलाम निकाल्ने कार्यले गति लिएको बताउनुभयो । लिमिटेड गठनको निर्णय भईसकेकाले अब तत्काल सञ्चालक समिति गठन हुने र प्रमुख कार्यकारी अधिकृत सीइयो नियुक्ती गरेपछि कामले थप गति लिने उहाँले बताउनुभयो ।

नयाँ बन्ने समितिले खानीबाट फलाम निकाल्ने कारखाना खोल्ने र त्यसैको सबै कामकारबाही द्रुत गतिमा अघि बढने भएकाले आगामी एक वर्षभित्र कारखाना स्थापना हुने दाबी गर्नुभयो । पहिलो चरणमा खानीसम्म पक्कि सडक निमार्णको काम सुरु भईसकेको छ । अब बन्ने समितिले त्यहाँसम्म बिजुली, कारखाना स्थापना गर्न जग्गा प्राप्तीको प्रकृया र स्थान छनौटका लागि प्राविधिक र विषेशज्ञको टोली खटाइने उहाँले जानकारी दिनुभयो ।

पूर्वी नवलपरासीको हुप्सेकोटा गाउँपालिका ५ धौवादीमा नेपालकै ठूलो फलाम खानी रहेको छ । १ सय वर्ग किलोमिटर क्षेत्रफलमा फलामखानी फैलिएको छ । त्यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान रहेको छ ।

विभागले धौवादी फलाम खानी रहेको एक सय वर्ग किलोमिटर क्षेत्रफल जग्गालाई फलाम खानी क्षेत्र भनेर किटान गरेको छ । खानी तथा भूर्गभ विभागले शुक्रबार फलाम खानीबाट निकालिएको ५ टन फलाम नमूना परीक्षणका लागि चीनको सरकारी प्रयोगशालामा पठाएको छ । त्यसको विस्तृत रिपोर्ट आउन कम्तिमा ३ महिना लाग्ने छ । सरकारले धौवादी फालम खानी लिमिटेड गठन गरेसंगै काम अघि बढाउन खानी तथा भूर्गभ विभागले काम अघि बढाएको छ ।

शनिबार एक विषेशज्ञको टोली धौवादीमा खटाएको छ । शनिबार विभागबाट फलाम खानीका लागि सिनियर डिभिजनल जियोलोजिष्ट दिनेशकुमार नापीत, नारायण बास्कोटा, प्रर्वधन तथा मूल्यांकन शाखाका प्रमुख जयराज घिमिरे, मेटालोजिकल इन्जिनियर कृष्णदेब झा लगायतका विज्ञहरुको टोली धौवादी खटाइएको छ । जग्गाको लोकेशन र धेरै प्रकृयाका बारेमा अध्ययन गरेर प्रतिवेदन विभागमा बुझाइन भूर्गभ विद नारायण बास्कोटाले जानकारी दिनुभयो । 

बजार मूल्यमा प्रतिस्पर्धा 
धौवादी खानीबाट निकालिने उत्पादन हुने फलामले विश्व बजारको मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने/नसक्ने बारेमा विभागले अध्ययन गर्ने भएको छ । पहिला फलाम कति प्रतिशत निस्कन्छ भन्ने बारे त्यो एकीन भएपछि बजार मूल्य प्रतिस्पर्धा बारेमा अध्ययन सुरु गरिने विभागले जनाएको छ । 

उत्पादित फलाम छड बनाउन प्रयोग हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । डण्डी बनाउने बाहेक खेरजाने फलामको धाउ सिमेन्ट कारखानामा प्रयोग हुन सक्ने छ । त्यहाँको खानीमा ३६ प्रतिशतसम्म मात्र फलामको मात्रा भेटिएका कारण निजी लगानीकर्ताहरु र आर्कषित हुन सकेका छैनन् । त्यहाँ उत्पादित फलामबाट स्टिल बनाउन धेरैवटा प्रशोधन प्लान्ट राख्न पर्ने भएकाले हालको बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने आंकलन गरिएको छ । 

संसारभरी ५५ प्रतिशत भन्दा बढी फलामको मात्रा रहेको खानीलाई उच्चकोटीको फलाम खानीको श्रेणीमा राख्ने गरिन्छ । पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको कावासोती र डण्डाबाट करीब २४ किलोमिटर उत्तरमा धौवादी फलाम खानीको पहाड रहेको छ । 


प्रतिक्रिया