चाउचाउ खाँदा एक बालिकाको मृत्यु, आमा छोरा सिकिस्त

भाद्र ७, २०७६ | धनुषा

चाउचाउ खाएर धनुषामा एक बालिकको मृत्यु भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सुतेका थिए ।

आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताउनुभयो । चाउचाउ आएका आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ । प्रहरी निरीक्षक थापाले भन्नुभयो, ‘दुबै जनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । 

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै  कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ ।

बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेको छ । बालिकाको मृत्यु भएको कारण बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । 


प्रतिक्रिया