उपचारका क्रममा सुत्केरीको मृत्यु  

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | बाजुरा

जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बिहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकी थिइन् ।

घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिहेको बेला उनको मृत्यु भएको आफन्त प्रेम नेपालीले बताएका छन् ।

सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगिसकेको र उनलाई आवश्यक परेको रगत समेत खोजी भईसकेको थियो । उनलाई गत साउन २६ गते जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा डाक्टरहरुले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते जिल्ला अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनु पर्ने सल्लाह दिएका थिए ।

तर, उनका आफन्तहरुले सुत्केरी नेपालीलाई समयमै जिल्ला अस्पतालमा सुत्केरी गराउन नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीले बताउनुभयो । मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

मृतक सुत्केरी महिलाको पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । मृतकका श्रीमान रोजगारीका लागि कुवेतमा भएकाले पोष्ट मार्टममा समस्या आएको बताइएको छ ।


प्रतिक्रिया