उपभोक्ता मूल्य नबढाई दूधको मूल्य बढाउन सुझाव 

भाद्र ७, २०७६ | बुटवल

रुपन्देहीका अगुवा किसानले उपभोक्ता मूल्य नबढाइ दूधको मूल्य बढाउन सुझाव दिएका छन् । सरकारले दूधको मूल्य बढाउने तयारी सहित सिफारीस समिति गठन गरेको केही समय पछि जिल्लाका किसानले यस्तो सुझाव दिएका हुन् ।

विक्रेतालाई मापदण्डमा ल्याउने हो भने उपभोक्ता मूल्य बढाउनु नपर्ने उनीहरुको दाबी छ । त्यसका लागि सरकारले उपभोक्ता र किसान बीचको दूधको मूल्य अन्तर अध्ययन गनुपर्ने किसानको माग छ। 

भारती गाईफाम देवदहका सञ्चालक राजेन्द्र गुप्ताले बिचौलियाले लिने फाइदा घटाउने हो भने उत्पादन मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढाउन सकिने दाबी गर्नुभयो ।  दानापानी, श्रम र जग्गाको भाडा बढेको बढ्यै छ । यिनलाई जोड्दा किसानलाई एक लिटर दूध उत्पादन गर्न करीब ५५ देखि ६० रुपैयाँ पर्छ ।

तर, उनीहरु सरदर ४५ रुपैयाँ प्रतिलिटरमै दूध बेच्न बाध्य छन् । यहीं दूध बजारमा ८० रुपैयाँ प्रतिलिटर छ । लुम्बिनी एग्रो फामका सञ्चालक शशी शर्मा पौडेलले यस्तोमा किसानलाई मूल्य दिन उपभोक्ता मूल्य बढाउनु नपने बरु बिचौलियाको फाइदा कटाए पुग्ने बताउनुभयो । दूध विक्रेताले कति फाइदा लिने भन्ने स्पष्ट नीति नहुँदा उत्पादक र उपभोक्ता ठगिएका छन् । 

सरकारले धेरै वस्तुमा उत्पादक र बिक्रेताले लिन सक्ने मुनाफा किटान गरेको छ । तर दूधमा छैन । यही सरकारी कमजोरीको फाइदा बिचौलियाले लिएका हुन् । यस्तोमा बिचौलियाको फाइदा नघटाई दूधको मूल्य बढाउँदा किसान र उपभोक्तामाथि अन्याय हुने किसानहरुले बताए । 


प्रतिक्रिया