नेकपा स्कूल विभागका प्रमुख पोखरेलद्वारा पदभार ग्रहण 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाको महत्वपूर्ण मानिएको स्कूल विभागका प्रमुख ईश्वर पोखरेलले आज पदभार ग्रहण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित एक कार्यक्रममा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

तत्कालीन एमालेको स्कूल विभागका उपप्रमुख शङ्कर पोखरेलले पदभार हस्तान्तरण गर्दै पहिलाको विभागको तुलनामा अहिलेको स्कूल विभागलाई एक खालको चुनौतीपूर्ण दायित्व थपिएको बताउनुभयो । आधारभूत ज्ञानको आधारमा पार्टीको सिद्धान्त र विचारलाई सँगै लैजान नसकिए पार्टी पंक्तिलाई सम्बोधन गर्न कठिन हुने भन्दै उहाँले विभागलाई प्रभावकारी ढङ्गले उचाईमा पुर्‍याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

विभागको जिम्मेवारी ग्रहण गर्दै प्रमुख ईश्वर पोखरेलले पार्टीका संस्थापक निर्णय, विचार र सिद्धान्तलाई तल्लो तहका पार्टीपंक्ति र कार्यकर्तामाझ पुर्‍याउने दायित्वलाई कुशलतापूर्वक व्यवस्थापन गरिने बताउनुभयो । 

पार्टी एकीकरणको एक वर्षपछि महत्वपूर्ण जिम्मेवारी लगभग पूरा भएको भन्दै उहाँले एकीकृत पार्टी नेकपाको आधिकारिक धारणा, निर्णय र संस्थागत विचारलाई तल्लो तहमा लैजान कस्तो ‘स्कूलिङ’ विकास गर्ने भन्नेबारे छिट्टै निर्णय लिइने स्पष्ट पार्नुभयो । कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्न नेकपालाई निकै चुनौतीपूर्ण छ ।

विपरीत विचारलाई मिलन गराई नेता कार्यकर्तामाझ नयाँ पार्टीको विचार, सिद्धान्त र नेतृत्वलाई स्थापित गर्नुपर्ने ऐतिहासिक महत्वपूर्ण जिम्मेवारी स्कूल विभागलाई जान्छ । जसमा धेरै नेताले आकांक्षा राखेपनि गत साउन ३१ गते बसेको नेकपाको सचिवालय बैठकले ईश्वर पोखरेललाई सो विभागको जिम्मेवारी दिएको थियो । 


प्रतिक्रिया