डेंगु संक्रमण नियन्त्रण प्रयास विफल

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

विराटनगर — मुलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा समेत आशंका छ । 

धरानमा तीन महिना बितिसक्दा पनि डेंगुनियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ।उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ। धरानमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको अनुमान छ।

प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ७ उपसचिव तहका जनशक्तिको दरबन्दी रहेकामा उपसचिव तहका एक जना मात्र कार्यरत छन्। निर्देशनालय प्रमुख अर्थात् निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालय चलिरहेको छ। उनी पनि तालिम, गोष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन्।‘कर्मचारी समायोजनका क्रममा भएको त्रुटिले गर्दा निर्देशनालयले जनशक्ति पाउन सकेको छैन,’ महतोले भने, ‘जनशक्ति थप्न प्रदेश एवं संघीय सरकारलाई भनिए पनि सुनुवाइ भएको छैन।’

एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टेले सफा पानीमा पारेको अन्डा, लार्भा र प्युपा नष्ट गर्न ‘खोज र नष्ट गर’ (सर्च एन्ड डिस्ट्रोय) अभियान चलाइए पनि त्यो प्रभावकारी हुन सकेन। डेंगुको खोप वा औषधि नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइ छ। धरानमा वैशाख २९ मा पहिलो पटक डेंगु संक्रमण देखिएको थियो।

शुक्रबारसम्म ३ हजार ४ सय जना संक्रमित भएको धरान उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जनाए । यो तथ्यांक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गर्न पुगेकाहरूको मात्र हो। विभिन्न क्लिनिकमा उपचार गराउनेको पनि संख्या जोड्ने हो भने धरानमा मात्रै संक्रमितको संख्या ५ हजार नाघ्छ। ‘जेठ–असारतिर सबैभन्दा बढी एक दिनमै ५० देखि सय जनासम्म अस्पताल भर्ना भएका थिए,’ यादवले भने, ‘साउनयता दैनिक २५/३० नयाँ बिरामी देखिएका छन्।’ एउटै परिवारमा ७ जनासम्म संक्रमित भेटिएका छन्।

धरानलाई डेंगु संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेर र्‍यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको थियो । डेंगु महामारीविरुद्ध मुलुकमै पहिलो पटक यस्तो टिम गठन गरिएको हो। टिममा बीपी प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका विशेषज्ञ चिकित्सक र ल्याब टेक्निसियन समावेश गरिएको थियो। उक्त टिमले सर्च एन्ड डेस्ट्रोय अभियान तीव्र बनाउन घरदैलो गरेको थियो।

डेंगु नियन्त्रणमा धरान उपमहानगरले ३० लाख रुपैयाँ खर्चिइसकेको छ। डेंगुबारे धरानका स्थानीय समुदाय व्यक्तिगत रूपमा सचेत रहेको पाइए पनि उनीहरूले जानेको ज्ञान भने व्यावहारिक रूपमा लागू नगर्दा नियन्त्रण हुन नसकेको एक सर्वेक्षणले देखाएको थियो। ‘डेंगुबारे थाहा हुँदाहुँदै पनि नियन्त्रण गर्न सक्रियता नदेखाएको पाइयो,’ सर्वेक्षक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धीरेन लिम्बूले भने, ‘अरू आएर सर्च एन्ड डेस्ट्रोय गरिदिऊन् भन्ने मात्रै बढी देखिए।’

बीपी प्रतिष्ठानका माइक्रोबायोलोजी विभागले सन् २०१६ मा डेंगु संक्रमण गराउने एडिस एजिप्टाई र एडिस एल्बो पिस्टस जातको पोथी लामखुट्टेमाथि झापाको काँकडभिट्टा, दमक, धरान र विराटनगरमा अनुसन्धान गरेको थियो। त्यसबेला चार प्रकारका डेंगु भाइरसमध्ये सेरोटाइप–२ डेंगु भेटिएको र तीन वर्षपछि धरानमा फैलिएको डेंगुको भाइरस पनि सेरोटाइप–२ नै भएको प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले बताए।

‘सेरोटाइप–२ त्यस्तो खतरनाक होइन  तर अर्को पटकको प्रकोपमा पहिले नै डेंगु भएकालाई सेरोटाइप–३ को भाइरस संक्रमण भए अवस्था जटिल आउन सक्छ,’ उनले भने, ‘नेपालमा एकै ठाउँमा छोटो अवधिभित्र यति धेरै संख्यामा संक्रमण भएको यो पहिलो घटना हो।’

धरानमा प्रि–मनसुनताका नै डेंगु देखिएको र त्यसलाई नियन्त्रण गर्न नपाउँदै मनसुन सुरु भएकाले अवस्था जटिल बनेको डा. भट्टराईले बताए । उनका अनुसार अब कम्तीमा पोस्ट मनसुन अर्थात् कात्तिक–मंसिरसम्म यसको प्रकोप जारी रहन्छ। ‘हिउँदयाममा लामखुट्टे निष्क्रिय रहन्छन्,’ उनले भने, ‘यसबीचमा पूर्ण रूपमा त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्न नसके फेरि प्रि–मनसुन सुरु भएपछि डेंगु देखिनेछ,’ उनले भने।

उदयपुरको कटारी नगरपालिका क्षेत्रमा डेंगुका कारण २९ जना बिरामी परेका छन्। डेंगुबाट कटारी बजारको कटारी मोडेल पोलिक्लिनिकका डा. गणेशलाल दाससमेत संक्रमित भएका छन्। उनको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। डाक्टर नै संक्रमणमा परेपछि त्रास बढेको स्थानीय हीरालाल अधिकारीले बताए।

उदयपुरको भित्री मधेस क्षेत्रमा पर्ने बेलका, चौदन्डीगढी, त्रियुगा र कटारी नगरपालिकामा ४० भन्दा बढी सर्वसाधारण डेंगुका बिरामी भेटिएका छन्। साउन २६ मा नीलम खडका र चित्रबहादुर दाहाल दुई जनालाई डेंगु देखिएको र त्यसयता अन्यमा संक्रमण फैलिएको कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले बताए।

‘सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छौं,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने। नगरपालिकाले डेंगु नियन्त्रणका लागि जनचेतनामूलक रेडियो कार्यक्रम, फगी स्प्रे, निःशुल्क औषधि वितरणलगायत कार्यक्रमलाई तीव्रता दिएको छ। पछिल्लो समय कटारी नगरपालिकाको बजार क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले बताए।

पहाडी जिल्ला पाँचथरमा पनि ३३ जनामा डेंगु संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले बताए। स्वास्थ्य कार्यालयले डेंगु संक्रमितको तथ्यांक संकलन गरिरहेको जनाएको छ। संक्रमण देखिएकामध्ये धेरैको जिल्लामै उपचार भएको छ। जिल्ला अस्पतालमा परीक्षण गर्ने किट्स नहुँदा स्थानीय समर्पित अस्पतालमा परीक्षण भएको थियो। अहिले ३० थान किट्स ल्याइएको र थप झिकाउने प्रयास भइरहेको अस्पतालले जनाएको छ।

प्रमुख राष्ट्रिय समाचार

* मुलुकमा ३ महिनादेखि महामारिका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल/धरानमा मात्रै ५ हजार भन्दा वढी संक्रमित

* सीमा स्तम्भ पुनस्थापित गर्न र मिचिएको जग्गा यकिन गर्न सरकारलाई संसदको अन्तराष्ट्रि सम्वन्ध समितिको निर्देशन/सिमा क्षेत्रमा भारतले बनाएका संरचनाका कारण थप समस्या भएको ठहर

* समयमै पदपूर्ति हुन नसक्दा मुलुकभर करिव २३ हजार कर्मचारीको दरवन्दी रिक्त/सेवा प्रवाहमा प्रत्यक्ष असर

* रोहिंग्या मुस्लिम समुदायप्रति मुलुकले गर्ने व्यवहारमा कडाई गर्ने बंगलादेश सरकारको निर्णय/आर्थिक भार बहन नगर्ने विदेशमन्त्री अव्दुल मेनिनको भनाई 

* प्रिमियर लिग फुटवलमा लिभरपुलको अपराजित यात्रा कायमै/आर्सनल ३–१ गोल अन्तरले पराजित

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया