रविविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीबिरुद्ध आज मुद्दा दायर गरिएको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ । आज पहिलो दिन कार्कीसँगको वयान मात्र सकिएको छ । तीनै जना अभियुक्तसँगको वयानपछि साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ । 

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आजै बुझाएको थियो । आत्महत्याअघि पुडासैनीले बनाएको भिडियोका आधारमा प्रहरीले उनीहरुलाई गत साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो ।

तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले दिएको १० दिनेको समय हिजो सकिएको थियो । 

गत साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार पुडासैनी मृत भेटिएका थिए । 

 


प्रतिक्रिया