सुरेश वाग्ले अस्पताल नबन्नुमा आईओएम र त्रिवि पदाधिकारी दोषी !

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

- काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा बनाउने भनिएको सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल निर्माण हुन नसक्नुमा चिकित्सा अध्ययन संस्थान आईओएम तथा त्रिवि पदाधिकारीको लापरवाही भएको पाइएको छ ।

अस्पताल भवन निर्माणमा अनियमितताबारे छानविनका लागि गठित संसदको शिक्षा तथा स्वास्थ समिति अन्तर्गतको उपसमितिले आईओएमका डिन तथा त्रिविका उपकुलपतिका कारणले निर्माण अलपत्र परेको जनाएको छ ।

उपसमिति संयोजक अंजना विशंखेले भवन निर्माणमा आर्थिक चलखेल हुने गरेको पाइएकाले ठेकेदारको एक्लैको लापरवाही नभएको बताउनुभयो । ठेकेदार कम्पनीले भेरिएसनका लागि पठाउने गरेको निवेदन त्रिविमा पठाउन आइओएमले ठिलासुस्ती गर्ने, ९ करोड रकम फर्छ्यौट गर्नुपर्ने, बिलमा जम्मा २ करोड मात्र भुक्तानी गरेको लगायतका लापरवाही पाइएको सांसद विशंखेले बताउनुभयो ।

ठेक्का दिएको ८ वर्ष वितिसत्दा समेत निर्माण कार्य सुरु नभएपछि समितिले सांसद विशंखेको नेतृत्वमा ३ सदस्यीय छानविन टोली गठन गरेको थियो । क्यान्सर अस्पताल निर्माणका लागि सरकारले २०६८ साल मंसिर २८ गते गौरा कन्स्ट्रक्सन प्रालि र एटलस ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिएको थियो ।

 


प्रतिक्रिया