अष्ट्रेलियाद्वारा चीनको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय

भाद्र १०, २०७६ | अष्ट्रेलिया

अष्ट्रेलियाले न्युूसाउथ वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यू साउथ वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ ।

न्यू साउथ वेल्स सरकारले यस राज्यमा रहेका १३ सरकारी बिद्यालयमा सञ्चालन भइरहेको सो शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक प्रभाव बढेको भन्दै बन्द गरेको थियो । चीनको कन्फुसियस इन्ष्टिच्युटद्वारा सञ्चालन गरिएको कार्यक्रम न्यू साउथ वेल्सको १३ सरकारी बिद्यालयमा सञ्चालन भइरहेको थियो ।

यो कार्यक्रम विशेष गरेर सिड्नी र मध्य उत्तर क्षेत्रमा रहेक विद्यालयहरुमा सञ्चालनमा रहेका थिए । न्यू साउथ वेल्स सरकारले चीनको सम्भाब्य प्रचारको आशंकामा यस कार्यक्रमको समीक्षाका लागि आदेश दिएको थियो । समीक्षाको नतीजामा कुनै राजनीतिक प्रभावको असर नभएको नतीजा सहितको रिर्पोट बुझाइएको भएपनि संस्थाले अनुचित विदेशी प्रभाव पार्न सक्ने बताएको थियो । 

त्यहाँका स्थानीय सञ्चार माध्यमका अनुसार विश्वमा न्यू साउथ वेल्स सरकारले मात्र आफ्ना विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग सुङ्गले न्यू साउथ वेल्स सरकारले गरेको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

उहाँले यो कार्य अनुचित हुनुका साथै अनादरपूर्ण भएको समेत टिप्पणी गरेका छन् । उहाँले यो निर्णय चीन सरकारसँग सरसल्लाह नगरी गरिएको समेत बताउनु भएको छ । ‘यो न आदरपूर्ण छ न यो स्थानीय विद्यार्थीहरुप्रति जायज नै छ । उहाँले भन्नुभयो, ‘यो चीन र अष्ट्रेलियाबीचको सांस्कृतिक आदान प्रदानको संस्कृतिलाई ध्यान दिएर गरिएको छैन् ।’ उहाँले अष्ट्रेलियाको न्यू साउथ वेल्स सरकारलाई सामान्य एकआपसको द्विदेशीय सम्बन्धका कार्यक्रमहरुलाई राजनीतिकरण नगर्न समेत आग्रह गर्नुभयो । 

त्यहाँका विद्यालयहरुमा सञ्चालित यस कार्यक्रम मार्फत चीनको कम्युनिष्ट पार्टीको धारणाहरु कक्षाकोठा मार्फत फैलाउन खोजिएको आलोचकहरुले आरोप लगाएका छन् । दर्जन बढी विद्यालयहरुमा सञ्चालित यस कार्यक्रम बेइजिङ्गमा रहेको कन्फुसियस इन्ष्टिच्युटले चलाइरहेको सञ्चारमाध्यहरुले जनाएका छन् । न्यू साउथ वेल्सको शैक्षिक विभागले एक विज्ञप्ति मार्फत अहिले सञ्चालन भइरहेको यो कार्यक्रम हटाइएको जनाउँदै यसको बदलामा अन्य चाइनीज झाषा कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । 

समाचारहरुका अनुसार चीनले यस कार्यत्रमका लागि अष्ट्रेलियाली २ लाख २० हजार डलर र प्रत्येक विद्यालयका लागि १० हजार डलर कक्षाकोठाका लागि वितरण गरेको थियो । यसका साथै यस कार्यक्रम मार्फत शैक्षिक सामाग्रीका चिनियाँ सरकारद्वारा स्वीकृत गरिएका एक शिक्षकलाई तलब समेत दिने गरेको थियो । न्यू साउथ वेल्स सरकारले स्थापना गरेको समीक्षामा प्रदान गरिएको सुविधाहरु असामान्य भएको जनाउँदै यो सुविधाहरु अन्य देशहरुका स्वंसेवक शिक्षकहरुलाई प्रदान नगरिएको बताइएको छ ।


प्रतिक्रिया