क्याङछिमी नाका खुलाउन सरकारसँग स्थानीयको माग 

भाद्र ११, २०७६ | फू, मनाङ

विनाशकारी भूकम्प गएको ६ महिनापछि भारतले नाकाबन्दी लगायो । करु र आलुबाली मात्रै उत्पादन हुने मनाङको विकट नार र फू गाउँमा खाद्यान्नको संकट पर्‍यो । वनस्पति नभएको नार र फू गाउँमा दाउराको विकल्पमा स्थानीयले खच्चड मार्फत ग्यास ल्याएर प्रयोग गर्थे ।

नाकाबन्दीपछि स्थानीयको चुल्होमा आगो बल्न छाड्यो । ३ देखि ४ दिनमै पुगिने तिब्बतका गाउँ तथा सहर छन् । त्यहाँबाट ग्यास वा खाद्यान्न ल्याउन कुनै अनुमति छैन । ‘तिब्बतको नाका खुलाएको भए हामी सहज तरिकाले खानेकुरा पाउँथ्यौं । हामीले कसरी जीवन गुजार्‍यौं भन्ने हामीलाई मात्रै थाह छ’ फू गाउँकी टसी नम्ग्याल लामाले भनिन्, ‘यस्तै हुन्छ भनेर हामीले पटक–पटक तिब्बतको नाका खोल्नुपर्छ भन्दै आएका छौं ।’ स्थानीयले तिब्बत तर्फको क्याङछिमी नाका खुलाउन सरकारसँग माग गरेका छन् ।

तिब्बतबाट आवश्यक वस्तु तथा पदार्थ आपूर्तिका लागि मनाङको नाका सहज हुने देखिएपनि सञ्चालनमा छैन । मनाङबाट तिब्बत जाने नाका प्रतिबन्धित छ । फू गाउँबाट क्याङछिमी नाका र नार गाउँबाट टेरिला (मुस्ताङ) नाका हुँदै तिब्बत जाने बाटा छन् ।

सन् २००३ बाट मात्रै पर्यटकका लागि खुला गरिएको नार र फू क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका छन् । राजा महेन्द्रका पालामा विसं. २०२८ सालतिर पत्ता लागेको भनिएको नार र फू गाउँबाट तिब्बतका गाउँ करीब २ दिनमा पुग्न स्थानीय बताउँछन् । हिँड्न सक्नेले एक दिन र एक बिहान लगाएर तिब्बतको सिमाना क्याङछिमी पुग्न सक्छ । टेरिला नाका भने पुरै २ दिन लाग्छ ।

नार्पाभूमि गाउँपालिका ५ (फू) का अध्यक्ष सोनाम तेजे लामाका अनुसार नार र फू पत्ता लाग्नुअघि स्थानीयले तिब्बतबाट घोडा–खच्चड, याक, चौंरीबाट खाद्यान्न आपूर्ति गर्दै आएका थिए । चीन र नेपाल सरकारले चाहेमा यो नाका खोल्न सकिने र अहिले पनि खाद्यान्न सामग्री ल्याउन सकिने उहाँले बताउनुभयो ।

‘यो नाका खुलेमा घोडा, खच्चड तथा याकचौंरीबाट सामान ल्याउन सकिन्छ । यसका लागि बाटो भने बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘दीर्घकालका लागि भने सुरुङ वा सडकमार्ग निर्माण गर्नुपर्छ ।’ क्याङछिमी नाका खुलेमा सिंगो मनाङ जिल्लामात्रै नभएर लमजुङ, गोरखा, धादिङ, कास्की लगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुने उहाँले बताउनुभयो । 

तत्कालीन फू गाविसका म्हिथेव (अध्यक्ष) एवं हाल नार्पाभूमि ४ (फू) का अध्यक्ष छिरिङ डेन्डो घलेका अनुसार नेपाल र तिब्बत सिमाना क्याङछिमी बोर्डर पुग्न साँढे १ दिन लाग्छ । बोर्डरबाट तिब्बतको स्युँटुकु पुग्न पैदल साँढे १ दिन लाग्छ । उहाँले भन्नुभयो, ‘फू गाउँबाट तिब्बतका बजार पुग्न त्यति टाढा छैन ।’ उहाँका अनुसार सिमानाको पूर्वमा नेपालकै रन्नचुली हिमाल र पश्चिमतर्फ चुलिस हिमाल छ ।

नेपालतर्फबाट उकालो १ दिनको बाटो खोङग्युर भीर भन्ने ठाउँसम्म गोरेटो र घोडेटो बाटो बनेको छ । यसका लागि तत्कालीन दुर्गम क्षेक्र विकास कार्यत्रम र तत्कालीन जिविस मनाङले सहयोग गरेको थियो । तिब्बततर्फ ठूलाठूला २/३ वटा खोला रहेको उहाँले बताउनुभयो । त्यहाँबाट बजार क्षेत्रसम्म मैदान जस्तै छ ।

उहाँका अनुसार तल्लो बाटो बन्नुअघि स्थानीयले नुनतेल लगायत खाद्यान्न तिब्बतबाटै ल्याउँथे । २८ सालमा तल्लो सडक खुलेपछि बिस्तारै लमजुङ क्षेत्रबाट खाद्यान्न लगायत सामग्री फू गाउँमा भित्रन थालेको हो । नार र फू गाउँलाई नयाँ मुलुक भनेर पनि चिनिन्छ । ‘पहिले पहिले त नुन तेल लगायत खाद्यान्न सामग्री स्युँटुकुबाट ल्याउने हो । पहिले गाउँ जस्तो ठाउँ अहिले त्यो ठाउँ राम्रो सहर भएको छ भन्ने सुन्छु’ उहाँले भन्नुभयो, ‘तिनै ठाउँबाट ल्याएका नुन तेल मनाङबाट लमजुङ, गोरखा र कास्कीसम्म पुग्थे ।’

स्थानीयका अनुसार तत्कालीन समयमा स्थानीयले तिब्बतका गोठालासँग ‘मीत’ नाता लगाएर तिब्बतको स्युँटुकुबाट खाद्यान्न झिकाएर उपभोग गरेका थिए । तत्कालीन राजा महेन्द्रको पालामा नार र फूको बस्ती पत्ता लागेपछि तलबाट बाटो खुलाएर खाद्यान्न ल्याउन थालिएको स्थानीयले बताए ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार टेरिला तल्लो बाटो नखुलेको समय नाकाबाट २ दिनमा पुगिने ठाउँमा लाग्ने बेलाबाट दैनिक उपभोग्य सामग्री ल्याउँथे । याकचौंरी र घोडाखच्चडमा बोकाएर उपभोग्य सामान ल्याउनुपर्ने बाध्यता थियो । उहाँले भन्नुभयो, ‘नार र फू तर्फको दुवै नाका खोल्यो भने हामीलाई निकै सहज हुन्थ्यो ।’ स्थानीयका अनुसार हिमालमा हिउँ जम्ने गाउँ भएकाले नाकाका ती ठाउँका चट्टान कडा छन् । केही भिरालो ठाउँमा हिमपहिरो पनि खस्ने गर्छ । अन्य ठाउँमा बाटो सजिलै छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार नार र फू गाउँबाट तिब्बत जान सकिने बाटाहरु रहेको भन्ने जानकारी छ । यसबारे थप बुझ्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नार र फू क्षेत्र विदेशी नागरिकका लागि प्रतिबन्धित ठाउँ हो । त्यहाँ पुग्न छुट्टै खालको अनुमति चाहिन्छ । पर्यटकको सबै विवरण राखेर थप शुल्क लिएर मात्रै पर्यटकले उक्त ठाउँ जान पाउँछन् । स्थानीयका अनुसार फू बाट जान मिल्ने तिब्बतको ठूलो सहर स्युँटुकु जान बन्देज छ । तिब्बतबाट दलाई लामा लखेटिएपछि उनका अनुयायी तिब्बती खम्बाहरू विभिन्न समयमा मनाङ प्रवेश गरेका थिए । त्यसपछि उनीहरुलाइ फर्कन नदिन तिब्बतले नाकामा कडाइ गरेको थियो । त्यसअघि नाकामा धेरै कडाई नभएको स्थानीयले बताए ।

मनाङका पूर्व प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार फू बाट तिब्बतको सिमाना क्याङछिमीमा पिल्लर समेत छ । ‘चामेबाट २ दिनमा फू पुगिन्छ । फूबाट पनि सिमाना जान थप २ दिन लाग्छ । सीमा क्षेत्र चामेबाट अन्दाजी ४० कोसको दूरीमा पर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्र जान करीब ६ हजार २ सय मिटरको भन्ज्याङ र खोङग्युभीर पार गर्नुपर्छ । सबैखाले मानिसले त्यस ठाउँमा जान नसक्ने उहाँको भनाई छ । उहाँका अनुसार तिब्बतको सिमाना गोरखाको साम्दोबाट लार्के हुँदै मनाङ भीमथाङ भएर धारापानी आउने बाटो पनि छ । 

मनाङबाट निर्वाचित सांसद पोल्देन छोपाङ गुरुङका अनुसार तिब्बत जोड्ने नाका खुलाउने विषयमा आफू सकरात्मक भएपनि सरकारले नै पहल थाल्नुपर्ने छ । उहाँले भन्नुभयो, ‘गाउँलेको माग जायज छ । तिब्बतसँगको नाका खोल्न सकिए सहज हुन्छ’ ‘मैले ठाउँमा गएर यो कुरा उठाउनेछु ।’ उहाँले चामे नजिकै कोतोदेखि नार र फू जाने सडक निर्माण थालिएको बताउनुभयो । नार र फू मा सडक पुगे माथिल्ले क्षेत्रसम्म पुग्न सहज हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नाका खुलाउने विषय सरकारले कूटनीतिक पहल गर्नुपर्छ । तिब्बत नाका खोल्न अरबौं, खरबौं बजेट चाहिने भएकाले तत्काल नखुलेपनि आगामी दिनमा उक्त नाका खोल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया