सुडान घोटाला काण्डः प्रहरीका ठेकेदार भारती पक्राउ

भाद्र १३, २०७६ | काठमाडौं

सुडानको डार्फरमा खटिने नेपाल प्रहरीका लागि आवश्यक बन्दोबस्तीको सामान खरिदमा चरम भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भई फरार थप एक अभियुक्त पक्राउ परेका छन् । बन्दोबस्तीका सामान खरिद गर्ने कम्पनीका नेपाल एजेण्ट शम्भु भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।

उनीविरुद्द सर्वोच्च अदालतले १ वर्षको कैद र १४ करोड २० लाख ८ हजार ३ रूपैयाँ ३ पैसा जरिवाना हुने फैसला गरेको थियो । शान्ति मिसन सुडानका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गदै प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो । ३१ प्रहरी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको थियो ।

विशेष अदालतले प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना सहित जनही दुई वर्षको कैद सजाय सुनाएको थियो । 

यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि भारतीलाई पनि दोषी ठहर गरेको थियो । विशेषले राइडरलाई २ वर्षको कैद र ५६ करोड ८० लाख जरिवाना हुने ठहर गरेको थियो । विशेषको फैसलाविरुद्द पुनरावेदन माग गदै २०६९ जेठ २२ गते तीन पूर्वमहानिरीक्षक सहित भारती सर्वोच्च पुगेका थिए । तर, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले २०७४ बैशाख १४ गते उनीहरुविरुद्द विषेशले गरेको फैसला सदर गर्‍यो ।

सोही मुद्दामा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक राणा, गुरुङ र ठकुरी काठमाडौको डिल्लीबजारस्थित कारागारमा कैद भुक्तान गरिरहेका छन् । भारतीलाई फैसला कार्यान्वयनका लागि पनि जिल्ला अदालत काठमाडौमा बुझाईने ब्यूरोले जनाएको छ । 


प्रतिक्रिया