कृषि कर्जा किसान अनुकूल नभएको गुनासो

भाद्र १४, २०७६ | बुटवल  

सरकारले कृषि कर्जालाई प्राथमिकतामा राखेको बताएपनि किसानले पाउन सकेका छैनन् । कृषि कर्जाका लागि राष्ट्र बैंकले कुल कर्जाको १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर, बैंकहरुले दिने कृषि कर्जा किसानहरुका लागि अनुकूल हुन सकेको उनीहरुको गुनासो छ ।

कृषि उत्पादन सुरु नहुदै कर्जाको ब्याज र किस्ता बुझाउनु पर्ने भएकाले आफूहरु समस्यामा परेको किसानहरुको बताएका छन् । रुपन्देहीको मायादेवी गाउँपालिकाका अगुवा किसान दुर्गेश यादवले उत्पादन सुरु नहुँदै कृषि कर्जा बुझाउनुपर्दा समस्या भएको बताए ।

कृषि उत्पादन तयार हुन ३ महिनादेखि एक वर्षसम्म लाग्छ । तर, बैंकहरुलाई भने ३/३ महिनामा कर्जा र किस्ता बुझाउनु पर्ने भएकाले कृषि कर्जा व्यवहारिक नभएको किसानहरुको गुनासो छ । अधिकांश किसानलाई उत्पादन बिक्री नहुँदै बैंकको कर्जा बुझाउन समस्या हुन्छ । त्यही समस्याका कारण उनीहरु सुलभ दरको कर्जा लिनु साटो महंगो ब्याजमा सहकारीबाट ऋण लिन बाध्य छन् । 

डेभलपमेन्ट बैंक एशोसियसनका केन्द्रीय सचिव प्रदीप कुमार श्रेष्ठले किसानको समस्याबारे आफूहरु जानकार भएपनि राष्ट्र बैंकले बनाएको नीति बाहिर गएर चल्न र कर्जा असूलीका लागि म्याद बढाउन सक्ने अवस्था नरहेको बताउनुभयो । 

नेपाल राष्ट्र बैंक सिद्धार्थ नगरका प्रमुख राजेन्द्र भट्टराईले बैंकहरुलाई कर्जा नीति बनाउन र त्यसअनुसार कृषि परियोजना राखेर कर्जा प्रवाह गर्न आग्रह गरेको बताउनुभयो । कृषि कर्जामा परियोजना हेरेर ग्रेस पीरियड राख्न सके उतपादन नथाल्दासम्म ब्याज तिरे पुग्ने उहाँले बताउनुभयो ।  


प्रतिक्रिया