बैंक हृयाकिङमा युरोपका प्राविधिक समूह 

भाद्र १६, २०७६ | काठमाडौं

बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करीब डेढ करोड रुपैयाँ लुट्ने योजनकारले यूरोपमा बसेर नेपालमा समूह परिचालन गरेको खुलेको छ । शनिबार पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएपछि यस्तो रहस्य खुलेको हो ।

स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै भएको प्रहरीसँगको बयानमा पक्राउ परेकाहरुले भनेका छन् । अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘बैंक हृयाकिङमा युरोपका प्राविधिक समूह र चीनका भरिया प्रयोग भएको हुन सक्छन ।’

यसैबीच, प्रहरीले घटनामा संलग्न अर्का एक चिनियाँ नागरिकलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुस ली छन् । उनको साथबाट प्रहरीले फ्रान्सको राहदानी बरामद गरेको छ । मलेसिया भाग्ने तयारीमा रहेका उनलाई अध्यागमन विभागको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट मलेसियन एयरलाईन्सको बोर्डिङ पास पनि फेला परेको छ । प्रविधिमा समेत दख्खल राख्ने सु लुस ली ले स्पेनमा रहेका ‘मास्टरमाइन्ड’ सँग इन्टरनेट मार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृतको दाबी छ ।  

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन र लुटिएको रकममध्ये १० प्रतिशत कमिसन दिने सहमति भएको थियो । नेपाल बैंकर्स एसोसिएसनले हृयाकरले बैंकिङ प्रणालीको स्वीचमै आक्रमण गरेर १ करोड ७६ लाख रुपैयाँ झिकेको बताएपनि प्रहरीले भने पक्राउ परेकाको साथबाट १ करोड २६ लाख २९ हजार रुपैयाँ मात्रै बरामद गरेको छ ।

बाँकी रकम फरार २ जनासँग हुन सक्ने आशंका गरिएको छ । फरार दुईको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया