बैंकको रकम हिनामिनामा ५० जनाको संलग्नता

रेडियो कान्तिपुर संवाददाता

भाद्र १६, २०७६ | दाङ,

देवः विकास बैंकको दाङको नारायणपुरस्थित शाखामा भएको रकम हिनामिनामा ५० जनाको संलग्नता रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । शाखा प्रमुख समिर बुढाथोकी पक्राउ परेपछि प्रहरी अनुसन्धानका क्रममा थप ४९ जनाको संलग्ना देखिएको हो ।

बैंकको १७ करोड ९९ लाख ९० हजार रुपयाँ हिनामिना गरेको अभियोगमा भदौ ३ गते बुढाथोकी पक्राउ परेका थिए । हिजो थप १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । घोराही १० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत, २६ वर्षीय अर्जुन बस्नेत, ४५ वर्षीय झगबहादुर डिसी, ३७ वर्षीय उज्वल आचार्य र ५४ वर्षीय सतकुमार पौडेल पक्राउ परेका छन् ।

यसैगरी घोराही ८ का ४३ वर्षीय बसन्त बुढाथोकी, घोराही १४ की २४ वर्षीया बन्धना गुप्ता, घोराही १५ का ३८ वर्षीय विरेन्द्रकुमार गुप्ता, घोराही १० का ४५ वर्षीय सक्टुराम गुप्ता र घोराही १४ का ३१ वर्षीय बिजयकुमार गुप्ता पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ३० वर्षीय बुढाथोकीले नारायणपुरस्थित शाखामा प्रमुख रहेको बेला ३६ जना नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । सो रकम थप ५५ जनाको खातामा हालेर त्यसबाट चेक काटी निकालेको देखिएपछि अन्यलाई पनि पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताउनुभयो । ५५ मध्ये ६ वटा चेक बुढाथोकीकै नाममा काटिएको र अन्य ४९ वटा सम्बन्धित खातावालले नै निकालेको देखिएको उहाँले बताउनुभयो । 

उक्त रकम विभिन्न जग्गा व्यापारीसम्म पुगेको सूचना प्राप्त भएको र त्यसबारे पनि अनुसन्धान भईरहेको पाण्डेले बताउनुभयो । घटना ठूलो भएकाले अनुसन्धानका लागि अदालतबाट ६० दिनको समय लिएको उहाँले जानकारी दिनुभयो । बुढाथोकी तत्कालीन वेष्टर्न डेभलपमेण्ट बैंकमा कार्यरत थिए । अहिले सो बैंक देवः विकास बैंकमा गाभिएको छ ।

बुढाथोकी रकम हिनामिनापछि फरार भएका थिए । उनलाई लुकिछिपी बसिरहेको अवस्थामा दाङको लमहीबाट प्रहरीले पक्राउ गरिएको थियो । उनको बयानका क्रममा अन्य मानिसहरुको संलग्नता पनि खुल्दै गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया