‘झापा स्पोर्टस् अवार्ड’ असोज १३ गते

भाद्र १७, २०७६ | बिर्तामोड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण आगामी असोज १३ गते गर्ने भएको छ । एनएसजेएफले स्पोर्टस् अवार्ड ०७५ को तयारीबारे मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

एनएसजेएफले पछिल्लो दुई वर्षदेखि ‘झापा स्पोर्टस् अवार्ड’ आयोजना गर्दै आएको छ । साविक मेची अञ्चल (झापा, इलाम, पाँचथर र ताप्लेजुङ) का खेलाडी तथा खेल क्षेक्रमा लाग्ने व्यत्तित्वहरुको प्रोत्सहान र सम्मानका लागि स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको मञ्चका जिल्ला अध्यक्ष हिमाल खरेलले बताए । अवार्डमा सबैखाले खेलका खेलाडी तथा प्रशिक्षकहरुले सहभागीता जनाउन पाउने उनले बताए ।

‘ओलम्पिकले मान्यता दिएका सबै खेलका खेलाडी र प्रशिक्षकहरु अवार्डमा सहभागी हुन पाउँछन् । तर, अवार्ड प्राप्त गर्नका लागि उनीहरुले जिल्लादेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका पदक र उपलब्धीलाई आधार मानिन्छ’ खरेलले भने । 

एनएसजेएफ झापाले वर्ष खेलाडी (पुरुष) र (महिला), वर्ष खेलाडी (युवा), उत्कृष्ट वर्ष प्रशिक्षक, पीपुल्स च्वाइँस र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । पीपुल्स च्वाइस र लाइफटाइम बाहेक चार विधामा तीन/तीन जना खेलाडी मनोनयनमा पर्नेछन् ।

उनीहरुमध्येबाट वर्ष खेलाडी घोषित हुने पुरुषले एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलाले एक थान स्कूटर, वर्ष खेलाडी युवा र उत्कृष्ट वर्ष प्रशिक्षकले जनही नगद २५ पुरस्कार प्राप्त गर्नेछन् । पीपुल्स च्वाइसले पनि नगद २५ हजार तथा लाइफटाइम प्राप्त गर्नेले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

अवार्ड अन्तर्गत खेलाडी मनोनयनको सूची भदौं २९ गते सार्वजनिक गर्ने अवार्ड संयोजन समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए । अवार्डका लागि अध्यक्ष खरेलको नेतृत्वमा ५९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, आर्थिक, प्राविधिक, स्वागत/सत्कार र स्वयम्सेवक उपसमितिहरु समेत गठन गरिएको छ । अवार्ड कार्यक्रम सम्पन्न गर्न करीब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । 


प्रतिक्रिया