अष्ट्रेलियाको ‘रोयल शो’ मा नेपाल प्रवर्द्धन

भाद्र २०, २०७६ | अष्ट्रेलिया

करीब २ सय वर्षदेखि बार्षिक रुपमा आयोजना गरिने अष्ट्रेलियाकै पुरानो सामुदायिक प्रदर्शनी ‘रोयल एडिलेड शो’ मा यसवर्ष युवा ब्यवसायी तथा एनआरएन मिलेर भिजिट नेपाल २०२० र नेपालको कलासंस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । उनीहरुले नेपाली पर्यटकीय क्षेत्र, वास्तुकला र हस्तकलाका सामग्रीहरु समेटेर अलग नेपाल सम्बन्धी अलग स्टलको स्थापना गरेका छन् ।

दक्षिण अष्ट्रेलियामा हरेक वर्ष दुई सातासम्म चल्ने यो बृहत प्रदर्शनीमा दैनिक ५ लाख ब्यक्तिहरुले अवलोकन गर्ने गरेका छन् । यही अवसरलाई समुपयोग गर्दै त्यहाँस्थित एनआरएनए र नेपाली युवा ब्यवसायी मिलेर भिजिट नेपाल, नेपालको पर्यटकीय क्षेत्र र नेपालका हस्तकला तथा वास्तुकलाका सामग्रीहरुको जानकारी दिने अवसर पाएका हुन् ।

१ सय ८० वर्षदेखि सञ्चालित यस प्रदर्शनीमा अस्ट्रेलियाका परम्परागत वस्तुहरुका साथै कृषि, विज्ञान, खाद्य, खाना लगायतका विभिन्न सामग्रीहरुको प्रदर्शनी हुने गर्दछ । एक साता अघिदेखि सुरु भएको यस प्रदर्शनीमा नमस्ते हेण्डिक्राफ्ट एण्ड आउटफिट्स र एनआरएनले नेपाल झल्कने विभिन्न सांस्कृतिक सामग्रीहरुका साथै पर्यटकीय जानकारीहरु सहभागिहरुलाई वितरण गरिरहेको छ । 

एनआरएन दक्षिण अस्ट्रेलियाका संयोजक नविन पन्तले भन्नुभयो, ‘हामीले नेपालमा सकेसम्म धेरै पर्यटकहरुलाई भिजिट नेपाल २०२० का बारेमा जानकारी दिने उद्देश्यले युवा व्यवासयिसँग मिलेर यो अभियान सुरु गरेका हौं ।’ 

उहाँका अनुसार नेपाल र नेपालीहरु कलासंस्कृतिको जानकारी दिन अलग स्टलको ब्यवस्था गरिएको हो । जसबाट नेपालको बारेमा जान्न चाहनेहरुलाई नेपालको पर्यटकीय जानकारी समेटिएको पुस्तक वितरण गर्ने गरिएको छ, भने भिजिट नेपाल २०२० का बारेमा समेत यथेष्ट सूचनाहरु दिने गरिएको छ ।

नमस्ते हेण्डिक्राफ्ट तथा आउटफिट्सका सनम महर्जनले भन्नुभयो, ‘हाम्रो स्टलमा दैनिक ४ हजार बढी विदेशीहरुले अवलोकन गर्ने गरेका छन्, जसमध्ये धेरैले नेपाली हस्तकला तथा वास्तुकलाका साथै पर्यटकीय क्षेत्रका बारेमा चासो राख्ने गरेका छन् ।’ उहाँले आफूले ब्यवसाय भन्दा पनि नेपालको कलासंस्कृति र परम्परालाई विदेशी समक्ष चिनाउने उद्देश्यका साथ यस्ता प्रदर्शनीहरुमा सहभागी भएको बताउनुभयो ।

अष्ट्रेलियामा आयोजना हुने विभिन्न प्रदर्शनी तथा महोत्सवहरुमा नेपाली परम्परागत सामग्रीहरुलाई विदेशी समक्ष चिनाउँदै आएका महर्जनका अनुसार त्यहाँ ल्याइने सबै सामग्रीहरु नेपालका आमा समूह तथा कारिगरहरुबाट खरिद गरिने गरिएको छ । प्रदर्शनीको नेपाल स्टलमा थान्का, नेपाली पेन्टिङ्गहरु, विभिन्न मुर्तिहरु, माला, सिगिङ्ग बल, पर्यटकीय क्षेत्रका फोटोफ्रेमहरु राखिएका छन् । 


प्रतिक्रिया