गिद्ध घटेपछि सिनो व्यवस्थापनमा चुनौती 

भाद्र २१, २०७६ | धादिङ

दुर्लभ र लोपोन्मुख गिद्धका हुलका हुल आउने त्रिशूली नदी किनारमा गिद्ध देखा पर्न छोडेका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखाबाट त्रिशूली नदीले बगाएर पाखा फालेका गाईवस्तुका सिनो खान आउने गिद्धका हुल हाल कतै पनि देखा पर्दैनन ।

सिनो खान गिद्ध आउनै छाडे पछि त्रिशूली किनार बगरमा सिनो पाखा लागे पछि हप्ता दश दिन वरपर बजारमा दुर्गन्धले फैलिएको छ । कुनै पनि सिनो घण्टामै सफाचट गर्ने गिद्धका बथान त्रिशूली किनार वा सिनोमा देख्न छाडेको ५ वर्ष जति भएको मलेखु स्थित शिव पाण्डेले बताए ।

त्रिशूलीले बगाएका मात्रै हैन गिद्ध लोप भएपछि स्थानीय पशुपालक किसानका गाई गोरु मरे पनि सिनो व्यवस्थापनमा निकै कठिनाई र चुनौती थपिएको छ । नीलकण्ठ नगरपालिका –१२ का वडाअध्यक्ष बाबुराम लम्सालले भन्नुभयो, ‘कुनै किसानको एउटा पशुवस्तु मरे डोजर प्रयोग गरी खाल्डो खनेर बारीमा गाडन पनि हजारौं खर्च गर्नु पर्ने हुन्छ ।’

नीलकण्ठ नगरपालिका १२ का गोपीलाल श्रेष्ठले पशुपालन फर्म सञ्चालन गर्न भारतबाट ३७ वटा गाई खरिद गरी ल्याए । घरका ५ वटा गाईले आम्दानी दिन थालेपछि गाईपालनमा हौसिएका श्रेष्ठले गाईको संख्या थपेर ४२ पुर्‍याएको । गाईको संख्या बढाएको हप्ता दिन नबित्दै साउन अन्तमा एकै दिन ६ वटा गाई मरे, अनि पालैपालो थप ११ वटा गाई मरे । श्रेष्ठलाई १७ वटा गाईको सिनो व्यवस्थापन गर्न स्थान अभाव समेत भयो । सिनो व्यवस्थापनमा थप अढाई लाख खर्चिनु परेको दुखेसो उनले सुनाए । 

जिल्लामा पशु सेवा कार्यालयले दिने अनुदानमा किसानहरुले खरिद गरी ल्याउने भारतीय गाईसँग आउने रोगले गाउँघरका रैथाने गाईहरु पनि धमाधम मर्न थालेका छन् । छिमेकी देशबाट गाई ल्याउन प्रतिबन्ध लगाएपनि तस्करहरु मार्फत भन्सार र पशु क्वारेन्टाईन छलेर आउने गाईसँगै विभिन्न रोगहरु पनि भित्रिने गरेका छन् । अनुदानका लोभमा भित्रिने भारतीय गाईहरुबाट सर्ने रोगले स्थानीय गाईहरुलाई सर्ने गरेको छ ।  

नेपाल पन्छी संरक्षण संघका विज्ञ टोलीले १८ अप्रिल २०१५ मा विश्वमै दुर्लभ सुन गिद्द, सेतो गिद्द र हिमाली गिद्द गल्छी भन्दा माथि त्रिशूली नदी किनारमा सिनो खादैं गरेको अवस्थामा फेला पारेका थिए । यस्तै, दुर्लभ हाडफोर गिद्द पनि १९ अप्रिल २०१५ मा देखिएको थियो । डगर गिद्द २०१३ को माघ महिना मा कुरिन्टार भन्दा माथिबाट देखिएको थियो ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ गते देखि पशु उपचारमा अत्यधिक प्रयोग हुने डाइक्लोफेनेक प्रतिबन्ध लगाएको थियो । यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु गरेको हो । हाल पशु उपचारमा डाइक्लोफेनेक प्रयोग शुन्य छ । पशुवस्तुलाई उपचारमा दिईने डाइक्लोफेनेकले पशुलाई निको गरेपनि यसको उपचार गरिएका पशुहरु कुनै समयमा मरे पछि गिद्धले सिनो खाँदा तत्काल गिद्धको किड्नी कमजोर भएर मर्ने गरेको संघका गिद्ध विज्ञ कष्ण भुसालले बताउनुभयो ।

विश्वमा जम्मा २३ प्रजातीका गिद्धहरु भए पनि नेपालमा ९ प्रजातीका फेला परेको र त्यस मध्य ५ प्रजाती विस्वमै दुर्लभ रहेको भुसालले बताउनुभयो । विश्वमा दुर्लभ र लोपोन्मुख अवस्थामा रहेका गिद्धहरु मध्य नेपालमा पाईने डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध, सेतो गिद्ध हुन् भने संकटापन्न अवस्थामा रहेका हिमाली गिद्ध, हाडफोर गिद्ध र राजगिद्ध छन् । 

सेप्टेम्बर ७ (भाद्र २१) को दिन एघारौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै विश्वरभर मनाईदै छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईन्छ । 

यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखिनै मनाईदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको हो । नेपालमा पनि सचेतनामूलक र्‍याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु, गिद्ध तस्बिर तथा चित्रकला फ्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा रेडियो कार्यत्रम गरी साता व्यापी रुपपमा मनाइने गरिएको छ । 


प्रतिक्रिया