नेपालद्वारा यूएईसामू २ सय ८६ रनको लक्ष्य 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | काठमाडौं

श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले यूएईसामु २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । एफटिजेड स्पोर्ट क्लबको क्रिकेट मैदानमा टस जितेको यूएईले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रनको मध्यम योगफल तयार पारेको हो ।

कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्य क्रमका ब्याट्सम्यानले उकासेका थिए । रित गौतम गोल्डेन डक आउट भएको ईनिङसमा पवन सर्राफ खाता नै नखोली पभेलियन फर्किए । 

कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले तेस्रो विकेटका लागि ८७ बलमा ७१ रनको साझेदारी गर्दै टोलीको उद्धार गरेका थिए । शेख ४५ रनमा पभेलियन फर्किए । रोहितले ६७ रन बनाए । रोहितले चौंथो विकेटका लागि सन्दिप जोरासँग मिलेर अर्को उत्कृष्ट साझेदारी गरेका थिए ।

जोरा २ रनले अर्धशतक बनाउन चुके । आठौं विकेटका लागि रासिद खान र कमलसिंह ऐरीले ८ दशमलब १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्‍याए । कमलसिंह ऐरीले ४१, रासिद खानले ४४ र कुशल मल्लले २२ रन बनाए ।

भीम सार्की १ रनमा एलबीडब्लु धरापमा परे । यूएईका महम्मद आकासा ताहिर र संचित शर्माले समान ३ तथा कार्तिक पाल्लानियापनले २ विकेट लिए । 

जारी प्रतियोगितामा सन्तुलित प्रर्दशन गरेपनि जित हात पार्न नसकेको नेपाली टोली आज त्यसलाई साकार पार्ने लक्ष्यमा मैदान उत्रिएको छ ।  


प्रतिक्रिया