नेपाली महिला टोली नाडेज्डा कपको फाइनलमा 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | काठमाडौं

नेपाली महिला टोली, किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ४ राष्ट्र सहभागी खेलमा दोस्रो जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो ।

पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरमा पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेलमा आज ताजकिस्तानलाई १–० ले पाखा लगायो । दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।

नेपालले उपाधिका लागि पर्सि उज्वेकिस्तानको सामना गर्नेछ । लगातार २ खेलमा जित निकालेको उज्वेकिस्तानले लिग चरणको अन्तिम खेलमा अहिले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । ६ अंकमा शीर्ष स्थानमा रहेको उज्वेकिस्तान यसअघि नै फाइनलमा पुगेको छ भने किर्गिस्तानले यसअघिका दुवै खेल हारेको छ ।   

काराकोल रंगशालामा नेपालले अधिकांश समय दवाव बनाएपनि ताजकिस्तानबिरुद्ध गोल गर्न भने ८६ औं मिनेटसम्म कुर्न परेको थियो । गीता रानाको फ्रिकिकमा साबित्री भण्डारीले हेडर मार्फत गोल गरेपनि नेपाल फाइनलमा स्थान बनाउन सफल भएको हो । तेस्रो स्थानका लागि पर्सि नै ताजकिस्तान र आयोजक किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया