अण्डर १९ क्रिकेटमा नेपालको सान्त्वना जित

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | काठमाडौं

नेपालले श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा सान्त्वना जित हात पारेको छ । लिग चरणबाटै बाहिरिएको नेपालले आज यूएईलाई १ सय ६० रनले पराजित गर्दै सान्त्वना जित हात पारेको हो । प्रतियोगितामा नेपालले २ अंक जोड्ने सक्यो भने यूएई अंकबिहीन रह्यो । दुवै लिग चरणबाटै बाहिरिएका टिम हुन् ।

२ सय ८६ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । ७ ओभर बलिङ गरेका सागर ढकालले २ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए । रसिद खान, पवन सरार्फ र सूर्य तामाङले २–२ विकेट लिए भने कमल सिंह ऐरीको नाममा एक विकेट रह्यो । 

यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रनको योगफल तयार पारेको थियो । क्याप्टेन रोहित पौडेलले ६७, सन्दिप झोराले ४८, आशिफ शेखले ४५, रसिद खानले ४४ र कमल सिंह ऐरिले ४१ रन बनाएपछि नेपाल उच्च योगफल बनाउन सफल भएको हो ।

इनिङ्सकै पहिलो बलमा रित गौतमलाई गुमाएको नेपालले ८ रन हुँदा पवन सर्राफलाई पनि शुन्य रनमै गुमाएको थियो । क्याप्टेन रोहित ६७ रनमा आउट भएपनि रसिद र कमलले आठौं विकेटका लागि ७० रनको साझेदारी गरे । अकाशा ताहिर र सञ्चित शर्माले समान ३ विकेट लिएका थिए ।

दुवै रहेको समुह बी बाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । बंगलादेश र श्रीलंकाबीच जारी खेलले समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समुह ए बाट भने इण्डिया विजेता र अफ्गानिस्ता उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । 


प्रतिक्रिया