धौवादी फलाम कारखानाको अध्यक्ष बन्न दौडधुप

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम कारखाना सञ्चालनमा आउने भएपछि त्यसको सञ्चालक समिति अध्यक्ष र सीइओ बन्न दौडधुप सुरु भएको छ । पछिल्लो पटक सरकारले सञ्चालक समिति र सीइओ नियुक्ती गर्ने नीतिगत बाटो खुल्ला गरेर खानी सञ्चालनमा ल्याउने निर्णय गरे लगत्तै सत्तारुढ दल नेकपाका जिल्ला नेताहरु  समिति अध्यक्ष र सीइओ बन्न दौडधुपमा लगेका हुन् ।

दौडधुपमा तत्कालीन माओवादी केन्द्र र एमालेका नेताहरुले छुट्टा–छुट्टै लबिंग थालेका छन् । सञ्चालक समितिमा राजनीतिक नियुक्ती हुने र समाजिक विकास अन्तर्गतको समेत बजेट हुने भएकाले जिल्लामा काम देखाउन पाइने भन्दै नेताहरुको त्यो पदमा आर्कषित भएका हुन् । 

उद्योग मन्त्रालयमा आफ्नै पार्टीका मन्त्री मातृका यादव रहेकाले पदका लागि तत्कालीन माओवादी केन्द्रका नेताहरुले लबिंग थालेका छन् भने, पूर्व एमालेका नेताहरुले पार्टी एकीकरण भईसकेको अवस्थामा भागबण्डामा भन्दापनि क्षमताका आधारमा आफूहरुले सो पद पाउनुपर्ने भन्दै लबिंग थालेका छन् । दुबैलाई अन्य जिल्लाका टाठाबाठाहरुले पद लिईहाल्लान की भन्ने पिरलो पनि उत्तिकै छ । 

उद्योग मन्त्रालय श्रोतका अनुसार सञ्चालक समिति ५ जनाको बन्ने र सबै राजनीतिक नियुक्ती हुनेछ । सञ्चालक समितिको सचिव सीओलाई नै बनाउने प्रस्ताव मन्त्रालयको छ । सीइओ मन्त्रालयकै प्राविधिक लाई बनाउने वा बाहिरवाट सोझै नियुक्ती गर्ने भन्ने नीतिगत निर्णय भैसकेको छैन । 

जिल्लामा नेकपाका नेता किसन शर्मा, सूर्य न्यौपाने, कृष्ण घिमिरे, भिमलाल अधिकारीको दौडधुप सुरु भएको नेकपा जिल्ला श्रोतले जनाएको छ । किसन शर्मा र सूर्य न्यौपाने तत्कालीन माओवादी केन्द्रका हुन । घिमिरे र अधिकारी तत्कालीन एमालेका हुन् । शर्मा नेकपाका केन्द्रीय सदस्य र पूर्वी नवलपरासी नेकपाका जिल्ला सहइञ्चार्ज हुन् ।

शर्मा र न्यौपाने दुबै प्रदेश सभा सदस्यमा पराजित उम्मेदवार हुन् । शर्माले आफै आउने नसके आफू निकटका ब्यक्तिलाई समितिमा ल्याउन प्रयासरत देखिएका छन् । यता, कृष्ण घिमिरे र भिमलाल अधिकारी क्रमश संसदका उम्मेदवार र मध्यबिन्दु नगरपालिकाबाट उम्ेमदवार भईसकेका छन् । दौडधुपमा रहेका सूर्य न्यौपानेले आफू २ दिनपछि काठमाण्डौ जाने र उपलब्धीका बारेमा बुझेर आउने प्रतिकृया दिनुभयो । 

सीइओ सञ्चालक समितिको सदस्य सचिव रहने गरी मन्त्रालयले होमवर्क थालेको उद्योग मन्त्रालय श्रोतले जानकारी दियो । सीइयो मन्त्रालयबाटै प्राविधिकलाई खटाउने वा सोझै राजनीतिक नियुक्ती गर्ने भन्ने निधो नभैसकेको श्रोतको भनाई छ  । 

नेकपाका नवलपरासीका इञ्चार्ज तथा संघीय सांसद तिलक महतले प्रधानमन्त्रीसँग यसै बारेमा सरसल्लाह गर्न बुधबार छलफल जानकारी दिनुभयो । चाडो समिति बनाउने, जिल्ला भित्रकै साथीहरुलाई समितिमा ल्याउने र कार्यालय चाडो खोल्ने काममा आफू लागि रहेको उहाँले जानकारी दिनुभयो । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी पहाडमा नेपालकै ठूलो फलामखानी रहेको छ । गत वर्षको बजेटमा अर्थ मन्त्रीले त्यहाँको खानीबाट फलाम उत्खनन् गर्न प्रयाप्त बजेट विनियोजन गरेको घोषणसँगै कामले गति लिन थालेको हो । 

पछिल्लो पटक छिमेकी चीनको प्रयोगशालामा पठाएको ५ टन फलामको नमूना परीक्षण रिपोर्ट अब ३८ दिन पछि आउँदै छ । त्यस अघि नै सञ्चालक समिति बनाइ सक्ने उद्योग मन्त्रालयको भनाई छ । 


प्रतिक्रिया