मेडिकल कलेज विरुद्धको आन्दोलनमा लागेका प्रकाश चन्द पक्राउ

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७६ | चितवन

चितवन मेडिकल कलेज विरुद्ध आन्दोलनको अगुवाइ गरेका प्रकाश चन्दलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ । प्रकाश प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा हुन् । प्रकासको अगुवाईमा नौ दिनदेखि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

विद्यार्थीहरुले माग राखेर विरोध प्रदर्शन गर्दै आएपनि बुधबार अस्पताल प्रशासन भित्रै छिर्ने तयारी गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिनु परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ले बताउनुभयो ।

प्रकास चन्द सहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थी पक्राउ परेपनि अस्पताल मुल गेट अगाडीको धर्ना र प्रदर्शन जारी नै रहेको छ ।

नाराबाजी गर्दै रहेका विद्यार्थीले प्रकासलाई धर्ना स्थल भन्दा केही परबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसै गरी पक्राउ पर्नेमा विद्यार्थी महिला पनि रहेको तर उनीहरुलाई समाउने बेलामा महिला प्रहरीहरु कोही पनि नरहेको उनीहरुले जानकारी दिए । विद्यार्थीले सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनु पर्ने र बढी लिएको सबै शुल्क फिर्ता गर्नु पर्ने लगायतका मागहरु राखेका छन् ।

मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेश विज्ञप्ति निकालेर विद्यार्थीले राखेका धेरै मागहरु सरकार र अन्य निकायहरुसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरु वार्ता र छलफलबाट पूरा गर्न अस्प्ताल प्रशासन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

तर, आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकहरुलाई धम्की दिने जस्ता गैर जिम्मेवार र गैर कानूनी काम भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 


प्रतिक्रिया