जोर्डन भ्यालीलाई ईजरेलमा गाभ्ने योजनाप्रति अरब राष्ट्रको आपत्ति

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७६ | बीबीसी

वेष्ट ब्यांकको जोर्डन भ्यालीलाई आफ्नो मुलुकमा गाभ्ने ईजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजनाप्रति अरब राष्ट्रहरुले आपत्ति जनाएका छन् । जोर्डन, टर्की र साउदी अरबका अधिकारीहरुले इजरेलको सो योजनाको चर्को बिरोध गरेका छन् ।

विवादास्पद जोर्डन भ्याली र उत्तरी मृतसागरलाई सरकारको स्वामित्वमा राख्ने योजना नेतान्याहुले आज सार्वजनिक गर्नुभएको हो । सरकारी प्रस्तावप्रति अन्य दल पनि सकरात्मक रहेकाले  नेतन्याहुलाई सहज हुने बीबीसीले उल्लेख गरेको छ ।

प्यालेस्टाइनले इजरेलको सो कदम अवैधानिक हुने बताएको छ । प्यालेष्टाईनका मुख्य वार्ताकार सइब इरेकातले इजरेलले सो योजना कार्यान्वयन गरे त्यो युद्ध अपराध हुने र यसले वार्ताको सम्भावना अन्त्य हुने बताउनुभयो । अरब लिगले नेतन्याहुको योजना डरलाग्दो विकासक्रम भएको भन्दै यसलाई हिंसात्मक व्यवहारको संज्ञा दिएका छन् । 

ईजरेलले सन् १९६७ मा वेष्ट ब्यांकमा नियन्त्रण जमाएपनि मुलुकमा गाभेको थिएन । आगामी मंगलबार हुने निर्वाचन अघि नेतान्याहुले टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको हो । वेष्ट व्यांक छुट्टै सार्वभौम मुलुक हुन पर्ने प्योलेष्टाईनले माग गर्दै आएको छ । सुरक्षाका कारण समेत सो क्षेत्र नछाड्ने ईजरेलको अडान छ ।   


प्रतिक्रिया