गण्डकी प्रदेशमा अगष्टमा मात्रै १६ हजार विदेशी पर्यटक भित्रिए 

भाद्र २६, २०७६ | पोखरा

सरकार आन्तरिक पर्यटन वर्षलाई भव्य रुपमा मनाउने बताएको छ । तयारीमा समेत जुटेको छ । नौ महिना बितेपछि तयारीमा खटिएको गण्डकी प्रदेश सरकारले यतिबेला प्रचारप्रसारलाई मात्र प्राथमिकता दिएको छ । आन्तरिक तथा बाह्यक पर्यटकको संख्या थपिँदै गएको छ । गण्डकी प्रदेशमा पछिल्लो समय विदेशी पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

गण्डकी प्रदेशमा अगष्ट महिनामा मात्रै १५ हजार ८ सय ६२ विदेशी पर्यटक भित्रिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पर्यटकको संख्यामा वृद्धि भएको जनाएको हो । 

सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष, २०२१ लाई पूर्वाधार वर्ष र २०२२ लाई बृहत अन्तर्राष्ट्रियस्तरको गण्डकी पर्यटन भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोही कार्यक्रमलाई लक्षित गर्दै पर्यटकको आगमन बढ्दै गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको पर्यटन महाशाखा प्रमुख क्रीतनराज पौडेलले गत वर्षदेखि नै पर्यटकको तथ्यांक राख्दै आएको बताउनुभयो । 

अध्यागमन विभागको तथ्यांक अनुसार २०१९ को जनवरीदेखी जुलाईसम्म मुलुकभर ६ लाख ५३ हजार २ सय १८ पर्यटक भित्रिए । सन् १०१८ को तुलनामा यसवर्ष ९ प्रतिशतले विदेशी पर्यटकको वृद्धि भएको उहाँले बताउनुभयो । पोखरा विमानस्थल, स्याङ्जाको राम्दी र तनहुँको आवुखैरेनीस्थित प्रहरीले राखेको विदेशी नागरिकको तथ्यांकानुसार मन्त्रालय र पर्यटन बोर्डले यो तथ्यांक सार्वजानिक गरेको हो ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशकै नवलपुर जिल्लामा आउने विदेशी पर्यटकको तथ्यांक भने यसमा समेटिएको छैन् । पोखरामा बढी पर्यटकीय क्षेत्र भएको र प्रदेश सरकारले पनि अभियानमूलक प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गरेकाले विदेशी पर्यटकको संख्यामा वृद्धि आएको पौडेलको भनाई छ ।

जारी प्रेस विज्ञप्ति अनुसार पोखरा विमानस्थल, आबुँखैरेनी र राम्दी हुँदै भारतीय पर्यटक क्रमशः १६१२, २७४९ र ११ सय ५४ गरी ५५ सय १५ जना भित्रिए । यसैगरी तेस्रो मूलुकबाट क्रमशः ३५ सय ५, ६७ सय ८२ र ६० गरी १० हजार ३ सय ४७ जना भित्रिएका छन् । भारत र तेस्रो मुलुकबाट गरी पोखरा विमानस्थलबाट ५१ सय १७, आवुखैरेनी हुदै ९५ सय ३१ र राम्दी हुदै १२ सय १४ गण्डकी प्रदेशमा आएका छन्  ।

प्रशस्त मात्रामा पर्यटक भित्रयाएर गण्डकी प्रदेशको समृद्धिको मुल आधार बनाउने लक्ष्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो । नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्ध सूर्य थपलियाले विदेशी पर्यटकको संख्या बढेता पनि अझै राम्रा र आकर्षित कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो । 


प्रतिक्रिया