मनाङमा उड्यो जहाज (फोटो फिचर)

भाद्र २७, २०७६ | हुम्डे, मनाङ

हिमाली जिल्ला मनाङमा जहाज उड्न थालेको छ । शुक्रबार समिट एयरको जहाज परीक्षणका लागि पोखराबाट उडान गरिएको हो । यसलाई असोज १० गतेबाट नियमित बनाउने गण्डकी प्रदेश सरकारले बताएको छ । धावनमार्ग कालोपत्रे भएपनि ६ वर्षयता नियमित उडान हुन सकेको छैन ।

यसअघि नेपाल वायु सेवा निगमले ट्वीनअटर जहाज उडान गर्दै आएको हुम्डे विमास्थलमा शुक्रबार समिट एयरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रु ओरालेको थियो । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङमा जहाज उडान नियमित गराउन गण्डकी प्रदेश सरकार लागि परेको बताउनुभयो । अक्टोबरदेखि पर्यटकको चाप हुने र जहाज नियमित हुने उहाँले आश्वासन दिनुभयो । पर्यटनमन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको समन्वयमा असोज १० गतेदेखि मनाङमा जहाज उडान नियमित गरिने बताउनुभयो ।

मनाङमा ४ दिने प्याकेज बनाएर जहाजमा आउनेलाई जहाजमै फर्काउने योजना रहेको भन्दै उहाँले आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न थालिएको बताउनुभयो । 

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जहाज नियमित हुन सके मनाङको पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङले धेरै समयको प्रयासपछि मनाङमा जहाज उडाउन सफल भएको बताउनुभयो ।

पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा करीब २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मीटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।


प्रतिक्रिया