कुमारी यात्रामा झुम्यो बसन्तपुर [तस्बिरहरु]

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | काठमाडौं

काठमाडौँ — यः सिं उठाएको दिनदेखि वसन्तपुरमा इन्द्रजात्राको रौनक सुरु भएको छ । इन्द्रजात्रा सुरु भएको चौथो दिन कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्छ ।

 

शुक्रबार वसन्तपुर क्षेत्रको तल्लो टोलमा कुमारी रथयात्रा गराएपछि राति राष्ट्रप्रमुखले कुमारी दर्शन गर्ने परम्परा छ । यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर गद्दी बैठकबाट कुमारी दर्शन गरिन् । कुमारीघरमा बस्ने कुमारी जुनसुकै दिन निस्कन नपाउने परम्परा छ । वर्षमा १३ पटक मात्र बाहिर निकालिन्छ । त्यसमध्ये इन्द्रजात्राको बेलामा विशेष महत्वको साथ बाहिर निकालिन्छ ।

भाद्र द्वादशी तिथीदेखि आश्विन चौथी तिथीसम्म मनाइने इन्द्रजात्राको अवसरमा तीन पटक कुमारी बाहिर निकालिने परम्परा रहेको इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य बताउँछन् । राजकीय सम्मानका साथ भाद्र शुक्ल पक्षको चतुर्दशी, पूर्णिमा र आश्विन कृष्ण पक्षको चौथी तिथीमा रथयात्रा चलाइन्छ । टोलवासीले आफ्नो राष्ट्रिय जीवित देवी कुमारीको दर्शन गरुन् भन्ने उद्देश्यले टोल टोलमा रथयात्रा गर्ने परम्परा रहेको हो ।

शुक्रबार वसन्तपुरबाट सुरु भएको रथयात्रा तल्लो टोल घुमाइयो । तल्लो टोलमा वसन्तपुर, मरु, चिकंमुगल, जैसीदेवल, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुर आएर टुंगिन्छ । भोलिपल्ट माथिल्लो टोलमा रथयात्रा हुन्छ । माथिल्लो टोलको पनि परम्परादेखि चल्दै आएको रुट हुन्छ । वसन्तपुरबाट निकालेर प्याफल, यट्खा, नरदेवी, तेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै फेरि वसन्तपुरमै ल्याइन्छ ।

तस्बिर : इलिट जोशी, कान्तिपुर


प्रतिक्रिया