खजुरा घटनालाई लिएर कांग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको खजुरा घटनालाई लिएर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सो घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका सांसदले सरकारको जवाफ चित्त बुझ्दो नभएको भन्दै आजको बैठकको कार्यसूची अघि बढाउन नसकिने अडान लिएपछि १० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु भएको छैन । बैठकको सुरुमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कुनै पनि पार्टी शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारमाथि सत्तापक्षका नेता कार्यकर्ताले हनन गरेको बताउनुभयो ।

दोषी जो कोही भएपनि सरकारले कारवाही गर्नुपर्ने उहाँको भनाई थियो । सभा हलमा प्रवेश गरेर सांघातिक आक्रमण हुँदा स्थानीय प्रशासन मुख दर्शक भएर बस्नु नै घटना सुनियोजित भएको प्रष्ट हुने खाँडले बताउनुभयो । उहाँले सरकार र सत्तारुढ दलले संविधानको प्रावधान र कानूनी राज्यको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । 

कांग्रेसका सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले सो घटनामा नेकपाका कार्यकर्ता सहभागी भएको हुनसक्ने भएपनि नेकपाको निर्देशन भने नभएको दाबी गर्नुभयो ।

यो घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै उहाँले राजनीतिकरण गर्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्ने तर्फ कांग्रेसको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाँके घटनालाई सरकारले गम्भिर रुपमा लिएको र घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी गराउनुभयो ।

राष्ट्रिय जागरण अभियान अन्तरगत गत बिहीबार बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका थिए । 

 


प्रतिक्रिया