नेपालको ग्राउन्ड स्टेसन तयार

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

काठमाडौँ — अन्तरिक्षमा भू–उपग्रह छाडिएको तीन महिनापछि नेपालको ग्राउन्ड स्टेसन तयार भएको छ । गत बिहीबारदेखि स्टेसन पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । 

गत वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो । ती स्याटेलाइट अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा करिब दुई महिनासम्म परीक्षण गरेर असार २ को अपराह्न ४ बजे अन्तरिक्षमाछाडिएको थियो ।

श्रीलंकाले यस अघिदेखि नै आफ्नै मुलुकबाट तथ्यांक लिन थाले पनि नेपालले भने स्याटेलाइट लन्च भएको तीन महिनापछि बल्ल ग्राउन्ड स्टेसन सञ्चालनमा ल्याएको हो । स्टेसन निर्माणका लागि नास्टले डिकेड इन्टरनेसनलसँग करिब १९ लाखको सम्झौता गरेको थियो । अहिले तथ्यांक संकलन र कमान्ड दिने काम नेपालबाटै हुने थालेको छ ।

नेपाली स्याटेलाइटबाट प्राप्त तथ्यांकहरू स्टेसनबाट गत बिहीबार साँझदेखि लिन थालिएको छ । शुक्रबार बर्डस्–२ र ३ कार्यक्रमअन्तर्गतका स्याटेलाइटहरूसँग सम्पर्क गरिएको स्टेसनका प्रमुख रोशन पाण्डेले बताए । ग्राउन्ड स्टेसन सञ्चालन नहुँदा भू–उपग्रहले पठाउने तथ्यांकहरू नेपालबाट विश्लेषण हुन सकिरहेको थिएन ।

अहिले नास्टले स्याटेलाइटको ‘हाउस किपिङ डाटा’ मात्र लिइरहेको छ । हाउस किपिङ डाटामा स्याटेलाइटको अवस्थाबारे जानकारी लिने काम हुन्छ । यसमा स्याटेलाइटको ब्याट्री भोल्टेज, करेन्ट, तापक्रम, समय र कल साइनलगायतका आधारभूत जानकारीहरू लिने काम हुन्छ । प्रमुख पाण्डेका अनुसार ग्राउन्ड स्टेसनको अवस्था पनि हेर्नुपर्ने भएकाले हाउस किपिङ डाटा लिइएको हो ।

हाउस किपिङ डाटा ‘भिजिबल पास’ का बेला लिने गरिएको छ । ‘भिजिबल पासमा स्याटेलाइटले दिने सिग्नल राम्रो हुन्छ,’ उनले भने, ‘नेपाली आकाशमाथि स्याटेलाइट हुँदा डाटा लिइन्छ ।’ एक दिनमा स्याटेलाइटले ८/९ पटक पृथ्वीलाई परिक्रमा गर्दा भिजिबल पास भने १/२ पटक मात्र हुने उनले बताए । ‘त्यस्तो अवस्थामा तथ्यांक राम्रोसँग लिन सकिन्छ,’ उनले भने । स्याटेलाइटको भिजिबल पास बढीमा ३ मिनेटसम्म हुने भएकाले हतारमा तथ्यांकहरू लिनुपर्ने अवस्था रहेको नास्टले जनाएको छ ।

यस्तै नास्टले हाउस किपिङ डाटा लिए पनि ‘क्याम डाटा’ भने लिएको छैन । स्याटेलाइटको भिजिबल पासको समय कहिले राति पर्ने त कहिले बिहान सबेरै पर्ने भएकाले क्यामेरामार्फत प्राप्त हुन सक्ने तथ्यांक लिन नसकिएको पाण्डेले बताए । उनका अनुसार कार्यालय समय र स्याटेलाइटको भिजिबल पासको समय अर्कै हुँदा केही समस्याहरू आइरहेको छ । स्याटेलाइट अन्य मुलुकको आकाशमाथि जाँदा सिग्नल कमजोर हुने र तथ्यांक लिन गाह्रो हुन्छ । स्याटेलाइट कहाँ कहाँ छ भन्ने मोबाइल एप्सबाट पनि थाहा हुने उनले बताए ।

‘सोमबार बिहान पौने ५ बजे भिजिबल पास छ । त्यसबेला तथ्यांक लिनका लागि अफिसमै जानुपर्छ,’ उनले भने, ‘बिहानै सबेरै अफिस पुग्न सम्भव छैन । भिजिबल पास हुँदा डाटा लिने हो तर, त्यो कार्यालय समयमा देखिएकै छैन ।’ यो काम नयाँ प्रकारको भएर नास्टले सिस्टम निर्माण गरिरहेको उनले बताए । धेरैले नेपाली स्याटेलाइटले नेपाली आकाशबाटै खिचेको तस्बिर हेर्न चाहिरहेका छन् ।

बर्ड्स–३ कार्यक्रमले यसअघि जापानी आकाशबाट लिएको थियो । नास्टले स्याटेलाइटको क्याम डाटा लिने प्रयत्न गरिरहेको छ । ‘क्यामेराको डाटा लिँदा भिजिबल पासका बेला कमान्ड दिएपछि लिइन्छ । ग्राउन्ड स्टेसनबाट कमान्ड दिएपछि स्याटेलाइटले डाटा दिन्छ,’ उनले भने, ‘डाटा रिसिभ गर्न ३ देखि ४ दिन लाग्छ । त्यो डाटालाई तस्बिरमा ल्याउन घटीमा ७ दिन लाग्छ ।’ नास्टले सकभर दसैं अगाडि नै नेपाली स्याटेलाइटले खिचेको तस्बिर सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी उनले दिए ।

ग्राउन्ड स्टेसनबाट भीएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र यूएचएफ (अल्ट्रा हाई फ्रिक्वेन्सी) डाटाहरू संकलन गर्न सकिन्छ । स्टेसनमा रेडियो उपकरण, टीएनसी कन्ट्रोलर र एन्टेना छ । स्याटेलाइट निर्माणकर्ता हरिराम श्रेष्ठका अनुसार तस्बिर लिँदा केही प्राविधिक समस्याहरू पनि आउन सक्छन् । ‘स्याटेलाइटको क्यामेरा बेलाबेला सूर्यतिर पनि फर्किने पनि भएकाले क्याम डाटा लिँदा समस्या हुन सक्छ,’ उनले भने, ‘सूर्यतिर फर्किएका बेला कमान्ड दिँदा सूर्यकोतस्बिर लिने हुनाले यसमा होसियारीपूर्वक कमान्ड दिनुपर्छ ।’

मुलुकको गौरवको विषय बनाइएको नेपाली स्याटको तथ्यांक संकलनका लागि चाहिने ग्राउन्ड स्टेसन निर्माण ढिलाइ हुनुमा केही प्राविधिक त्रुटिहरू देखिएको थियो । नास्टले स्याटेलाइट लन्च हुनु अगावै ग्राउन्ड स्टेसन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

स्टेसन सञ्चालनमा ढिलाइ हुनुमा सरकारकै नीतिगत कमजोरी कारण भएको नास्टका एक अधिकारीले बताए । गत चैत १९ मा स्याटेलाइट निर्माण प्रक्रियाको काम थालनी भएको थियो भने त्यसको २१ दिनपछि मात्रै स्टेसन निर्माणको ठेक्का डिकेट इन्टरनेसनललाई दिइएको थियो ।

‘आफ्नै स्याटेलाइटको परियोजना पहिलोपटक गर्न लागिएको भएर पनि उपकरण खरिदमा ढिलाइ भएको हो,’ नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले भने, ‘उपकरण विभिन्न मुलुकबाट आयात गरिएको छ । सफ्टवेयर इन्स्टल गरे पनि एन्टेना आइपुग्न ढिला हुनुको असर स्टेसन निर्माणमा पर्‍यो ।’

फ्रिक्वेन्सी रिसिभरको लाइसेन्स लिन भएको ढिलाइले पनि उपकरण जडानमा केही समय लागेको उनले बताए । फ्रिक्वेन्सीसँग सम्बन्धित उपकरण जडान गर्नुपूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट उपकरण सञ्चालनका लागि लाइसेन्स लिने प्रक्रियामा नास्टले ढिलाइ गरेको थियो ।

यस्तै रोटेटर उल्टो परेपछि पनि स्टेसन सञ्चालनमा आउन थप समय लाग्यो । ग्राउन्ड स्टेसन सञ्चालनमा आएपछि नेपालबाटै स्याटेलाइटलाई मोनिटरिङ गर्न सकिन्छ । नानो आकारको नेपाली स्याटेलाइटको आयु बढीमा ३ वर्षको छ ।


प्रतिक्रिया