हतियार प्रयोग गरी लुटपाट, एक घाइते

भाद्र ३०, २०७६ | लमजुङ

लमजुङको मर्स्याङदी गाउँपालिका ३, टुनीखर्कका एक वृद्ध दम्पत्ति लुटिएका छन् । हतियारधारी समूहले आइतबार घरभित्र पसेर वृद्धवृद्धालाई अन्दाधुन्दा धारिलो हतियार प्रयोग गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

नकाव लगाएको ३ जनाको समूह आएको हतियार प्रयोगबाट ७८ वर्षीय आइतसिंह गुरुङ घाइते भएका छन् । दायाँ औंला र टाउकोमा चोट लागेका उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनका पत्नि विनकुमारी भन्ने भीमकुमारी गुरुङ भने जोगिएका छन् । उनीहरुका साथबाट लुटेराले ८ तोला सुन लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।

डीएसपी रबिन्द्रमान गुरुङका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गरिएको उहाँले बताउनुभयो । 

घाइते आइतसिंहका अनुसार गर्मीको समय भएकाले ढोकामा चुकुल लगाएको थिएन ।

राति साँढे १२ बजेतिर मुखमा नकाव लगाएर आएको टोलीले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र पत्निको दुवै कानमा रहेको साँढे १/साँढे तोलाको सिक्री सहितको सुन साथै घाँटीमा लगाएको ३ तोलाको सुन लुटेर लगेको छ ।

‘नजिकै छिमेकीको घरमा बाहिरबाट ताला लगाएर हामीलाई लुट्न आएको रहेछ । यो लुटेर हामीलाई चिन्ने, वरपरको कोही हुनुपर्छ’ उनले भने ।

वृद्धवृद्धा गाउँमा बस्दै आएका छन् । उनका एक छोरा र एक छोरीमध्ये छोरी विवाह भएर बेंसीसहर बस्दै आएका छन् । छोरा बेलायती सेनामा कार्यरत छन् । 

 


प्रतिक्रिया