कांग्रेसद्वारा संसद अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि बाँके घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सो घटनाका दोषीलाई कारवाही गर्न किटानी जाहेरी दर्ता भएपनि कारवाही गर्न सरकार उदासीन भएको भन्दै कांग्रेसले पनि बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमा नै कांग्रेस सचेतक पुष्पा भुषालले किटानी जाहेरीमा उल्लेख भएका व्यक्तिलाई तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानको पालना, मानव अधिकारको रक्षा र विधिको शासनको पालना गर्न कांग्रेस सँधै तयार रहेको पनि बताउनुभयो । 

सरकार उदासीन भएकै बेला प्रमुख प्रतिपक्षी दलको दबाबका कारण मात्र बाँकेमा प्रहरीले किटानी जाहेरी लिएको भुषालको भनाई थियो । यसैबीच, सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले भने बाँकेमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा कुनै उत्श्रृङ्खल क्रियाकलाप नभएको दाबी गर्नुभएको छ । उहाँले सो घटनाका विषयमा कांग्रेसले गहन अध्ययन नगरी सदन अवरुद्ध गरेको आरोप लगाउनुभयो । 

छानविन समिति बनाएर सो घटनाको सत्य तथ्य छानविन गर्न पनि क्षेत्रीले माग गर्नुभयो । सत्तारुढ दलका सांसदले बाँकेको सितापुर घटनामा अमानवीय गतिविधि नभएको बताएपछि कांग्रेसका सांसद बेल घेराउ गर्न गएका थिए । सभामुख कृष्णबहादुर सदनको कारवाही अघि बढाउन पटक/पटक गरेको आग्रह कांग्रेसका सांसदले अस्वीकार गरेपछि प्रतिनिधि सभाको बैठक पर्सि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले राष्ट्रिय जागरण अभियान अन्तरगत गत बिहीबार बाँकेको खजुरामा आयोजित कार्यक्रममा आक्रमण हुँदा कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही कार्यकर्ता घाइते भएका थिए । 


प्रतिक्रिया