कुवेतसँग नेपालको बराबरी 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

- एएफसी अण्डर १६ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली कुवेतविरुद्ध एक एकको बराबरी खेलेको छ । जोर्डनमा गएराती भएको खेलमा ७४ औँ मिनेटमा दिपेश राईको गोलबाट बनाएको अग्रता जोगाउन नसक्दा नेपाल अंक बाँड्न बाध्य भएको थियो । ईज्युरी समयमा कुवेतले पेनाल्टिमार्फत गोल गर्दै नेपालसँग अंक खोसेको थियो । अब्दुलवहाव अल हिन्दीले कुवेतका लागि बराबरी गोल गरेका थिए ।

 

निक्कै सुधारिएको खेल खेलेको नेपालले रक्षाफक्तिलाई चुस्त राख्दै कुवेतको आत्रमण प्रयास विफल पारेको थियो । यद्यपी आफुले पाएका केही अवसरपनि खेर फालेको थियो । पहिलो खेलमा आयोजक जोर्डनसँग ७–० ले पराजित भएको नेपालको जारी प्रतियोगितामा यो पहिलो अंक हो । 

नेपालले तेस्रो खेलमा शुक्रबार ताजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराती नै ताजाकिस्तानले श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित हात पारेको थियो । समुहचरणको अन्तिम खेलमा नेपालले असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष टोलीले च्याम्पियनसिपमा स्थान बनाउने छन् । दोस्रो स्थानमा रहने ११ मध्ये उत्कृष्ट ४ टोली पनि च्याम्पियनसिपमा छनोट हुनेछन् ।  


प्रतिक्रिया