गाउँपालिका कार्यालय तोडफाडको आरोपमा वडाध्यक्ष पक्राउ

भाद्र ३१, २०७६ | पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडाध्यक्ष सहित ३ जना मंगलबार बिहान पक्राउ परेका छन् । गएको बुधबार लाहाचोकमा रहेको गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् । 

वडा प्रहरी कार्यालय बगरले पोखराको जिरो किलोमिटरबाट उनीहरुलाई पक्राउ गरेको हो । गाउँपालिकाले तोडफोडमा संलग्न भएको भन्दै गएको शुक्रबार ४ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, कांग्रेसबाट वडा नम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ र टीकाराम पोडेल विरुद्ध किटानी दिइएको थियो । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

सूचना माग गर्दा पर्याप्त रुपमा नदिएको भन्दै गाउँपालिकाका कांग्रेस सभापति खुसीमान गुरुङको नेतृत्वमा ४०–४५ को संख्यामा पुगेका कार्यकर्ताको टोलीले बुधबार गाउँपालिका कार्यालय तोडफोड गरेको थियो । तोडफोडबाट कार्यालयको सभाकक्षमा रहेका २५ कुर्ची भाँच्चिएका छन् । सभाकक्षको टेबुल ठाउँठाउँमा प्वाल परेको छ । खुसीमान गुरुङले भदौ १२ मा सूचनाको हकको प्रयोग गर्दै गाउँपालिकाका निर्णय, आर्थिक प्रतिवेदन लगायत सूचना माग गरेका थिए । गाउँपालिका कार्यालयले अपूरो सूचना दिएपछि भीड आक्रोशित भएर सामान्य तोडफोड भएको स्थानीय युवा उमेश बास्तोलाले बताए । ‘हामी गाउँपालिका कार्यालय जाँदा खासै वास्ता गरिएन,’ उनले भने, ‘पाउनुपर्ने सूचना लुकाइएपछि सामान्य भनाभन भयो ।’

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीका अनुसार गाउँपालिकामा निर्माणाधिन १३२ केभीए सबस्टेसन प्रभावितसँग उनकै कार्यकक्षमा बैठक थियो । बैठक भइरहँदा सभाकक्षमा तोडफोड भएको उहाँले बताउनुभयो । ‘५–१० मिनेट ढिलो हुँदैमा वास्ता नगरेको भन्ने हुँदैन,’ उहाँले भन्नुभयो,  ‘त्यति कुरामा मात्रै तोडफोड गरिनु गलत हो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले माग गरेको सूचना प्राप्त नभए पुनः निवेदन दिन सकिने प्रक्रिया रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको आफ्नै प्रक्रिया हुँदाहुँदै पनि तोडफोड भयो ।’ 


प्रतिक्रिया