सिंहदरवारमा अत्याधुनिक सुविधायुक्त संसद भवन बन्ने 

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

- सिंहदरवारमा अत्याधुनिक सुविधायुक्त संघीय संसद भवन बन्ने भएको छ । सिंहदरवारको उत्तर पूर्वी क्षेत्रस्थित पुतली बंगैचामा करिव ७ अर्व रुपैयाँ लागतमा प्रतिनिधि र राष्ट्रिय सभाको भवन बन्न लागेको हो ।

१ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बन्ने संसद भवनको दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुनेछ । आधुनिक कला शैलीमा उच्च प्रविधि र सुरक्षायुक्त भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाडीले जानकारी दिनुभयो । 

३ वटा छुट्टा छुट्टै ब्लक रहने भवनमा प्रतिनिधिसभामा ४ सय जना र  राष्ट्रिय सभामा करिव १ सय जना अट्न सक्ने गरी हल निर्माण गरिनेछ । यसैगरी संसद सचिवालय, सुरक्षा गार्ड, सभाहल समेत निर्माण गरिने छ । 

ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आफ्नै लगानीमा संघीय संसद भवन बनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार सरकारले आज संसद भवन निर्माणको औपचारिक सुरुवात गर्न लागेको हो । भवन निर्माणको बहुबर्षीय ठेक्का लागिसकेको र आगामी ३ बर्षभित्र निर्माण सकिने प्रवक्ता दवाडीले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया