सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य : मन्त्री विष्ट                                                  

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै क्षेत्रमा श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लागू गरिनुपर्ने बताउनुभयो ।

सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम पारिश्रमिक कार्यान्वयन गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकाले न्यूनतम ज्यालाको प्रत्याभूति गराउने भन्दै उहाँले न्यूनतम पारिश्रमिक प्राप्त गर्न नकसेकाका शिक्षक र विद्यालयका कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रिपरिषद छलफल भइरहेको जानकारी दिनुभयो । 

अझै पनि सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षक तथा कर्मचारीले सरकारले न्यूनतम् पारिश्रमिक प्राप्त गर्न सकेका छैनन् । सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक सबैले पाउनुपर्ने भन्दै मन्त्री विष्टले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधान कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक तथा कर्मचारीमाथि कुनै प्रकारको शोषण हुन नहुनेमा जोड दिनुभयो । निजी विद्यालयमा काम गर्ने शिक्षकको आर्थिक अवस्था निकै दयनीय रहेको भन्दै उहाँले सबै क्षेत्रमा श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लागू गरिनुपर्नेमा जोड दिनुभयो ।

 


प्रतिक्रिया