भारतद्वारा गण्डकमा तटबन्धन निमार्णमा ढिलाई 

- नारायण शर्मा , नवलपरासी

    आश्विन १, २०७६

    भारतले त्रिवेणीधामको नेपाल तर्फ निमार्ण गरेको तटबन्धनको काममा ढिलाई गरेको छ । नारायणी नदीले गाउँमा क्षति गर्ने भएपछि भारतले आफनो तर्फ र नेपाली भू– भागमा ७ महिना अघि देखि निमार्ण थालेको तटबन्धनको नेपाल तर्फको काममा ढिलाई गरेको हो ।

    नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पर्ने नारायणी नदीको बाँया तर्फ नदी नेपाली भू–भागमा नपसोस् भन्नका लागि किनारमा सुरक्षात्मक तटबन्धन निमार्णको काम सुरु गरेको हो । 

    ५५ वर्ष अघि निमार्ण गरेको बाँधको दाँया (भारत तर्फ) र बाँया (नेपाल तर्फ) भू–भागमा भारतले बनाएको तटबन्धन पुरानो र जीर्ण भएका कारण नयाँ सुरक्षात्मक ततबन्धन निमार्ण थालेको हो । नेपाली भू–भागको सुरक्षाका लागि २२ सय ३६ मिटर लामो तटबन्धन निर्माण सुरु गरेको हो । 

    पहिलो चरणमा नेपाल तर्फ १ अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण कार्य भईरहेको गण्डक स्थित भारतीय वाल्मिकी नगरका अधिक्षक नन्दकुमार झाले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा नारायणी नदिको दाँया (भारतर्फ) को काम सकेर नेपाल तर्फ काम भैरहेको जानकारी दिनुभयो ।

    नदीमा रहेको पानीको सतहदेखि न्यूनतम ३ मिटर तलबाट तटबन्धन गरेर माथि उठाउने र माथिल्लो भागमा पक्कि ढलान गरिने जानकारी उहाँले जानकारी दिनुभयो । तटबन्धन पानीको सतहदेखि ९ मिटर सम्म अग्लो रहने उहाँको भनाई छ ।

    त्रिवेणी स्थित गण्डक पुलदेखि उत्तर गजेन्द्रमोक्षधाम सम्म नारायणीमा बालुवाको सतह बढदै गएको र कुनैपनि वर्षायाममा पानी गाउँमा पस्ने खतरा भएकाले तटबन्धन गरिएको उहाँको भनाई छ । ५५ वर्ष अघि नेपाल तर्फ निमार्ण गरिएको तटबन्धन जीर्ण र पुरानो भएकोले गण्डक सम्झौता अनुसार नेपाली भू–भागमा बाढी पस्ने जोखिक न्यूनिकरणका लागि भारतले आफनै लगानीमा तटबन्धन निमार्णको काम थालेको हो । त्रिवेणीमा नेपाल भारतको सीमा नदी गण्डक हो । 

    वर्षाका कारण काममा केही ढिलाई भएको भारतीय पक्षले स्वीकारेका छन् । स्थानीय उपभोक्ता वा सरकारी प्रतिनिधिले नेपाली भू–भागमा भैरहेको कामको अनुगमन वा गुणस्तरीय कामका बारेमा प्रस्न उठाउन नपाउने नियमका कारण भारतीय ठेकेदार मार्फत नेपाली भू–भागमा हुने कामको टुलुटुलु हेर्न बाहेक अरु विकल्प नभएको स्थानीय सञ्चारकर्मी प्रेमचन्द्र गुप्ताले बताए । कुनै गुनासो गरे काममा थप ढिलाई हुने भएकाले आफूहरु मौन रहन बाध्य भएको स्थानीयको भनाई छ । दुबै किनारमा निमार्ण थालिएको तटबन्धन संगसंगै गर्ने गरिे टेण्डर भएपनि ठेकेदारले भारत तर्फको तटबन्ध निमार्णको काम पहिला सकेर नेपाली भू–भाग तर्फ तटबन्धनको काम थालेका हुन् । 

    गण्डक पुलदेखि करीब ५ किलोमिटर उत्तर स्वामि कमल नयनाचार्यको आश्रम रहेको गजेन्द्रमोक्ष दिब्यधाम सम्मको क्षेत्र तटबन्धन गर्न पर्ने भएपनि पहिलो चरणमा बढी जीर्ण भएको र बालुवा थुप्रिएको क्षेत्रमा भारतले तटबन्धनको काम थालेको हो । नेपाल तर्फको काम सन् २०२१ मे मा सकिने गरी सम्झौता भएको छ । नारायणीमा पानीको बहाब बढेका कारण धमाधम काम गर्न जोखिम रहेको भारतीय पक्षको दाबी छ । 

    भारतले त्रिवेणीमा बाँध बनाएर गण्डक नदीको पानी उत्तर प्रदेश र बिहानरमा सिंचाइको लागि लगेको छ । गण्डक सम्झौता अनुसार गण्डक नदीले गर्न सक्ने क्षति नियन्त्रणको जिम्मा भारत सरकारहो हो ।

    नारायणी नदीलाई त्रिवेणीमा पुगेपछि गण्डक भनेर चिनिन्छ । भारतभर यसलाई गण्डक नै भन्ने गरिन्छ । त्रिवेणीमा बाँध बनाएर पूर्व र पच्चिम लगेको पानीले भारतको उत्तर प्रदेश र बिहारका ५ लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको छ । भारत लगिएको पुर्वी र पश्चिमी गण्डक नहरमा ३२ हजार क्यूसेक लिटर पानी प्रतिसेकेण्ड बग्छ भने भारतले गण्डक सम्झौता अनुसार नेपालकालागि बनाइदिएको नेपाली नहरमा जम्म ३ सय क्यूसेक पानी बग्ने क्षमता रहेको छ । नेपाली नहरमा पानी छोडन नेपाली पक्षले भारतलाई आग्रह गर्न पर्ने अबस्था छ । 

    प्रकाशित:आश्विन १, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्