खुदी जलविद्युतमा फेरि बाढी पस्यो

आश्विन २, २०७६ | लमजुङ

लमजुङको मर्स्याङदी गाउँपालिका ९, सिम्पानीस्थित ४ मेगावाटको खुदी जलविद्युत केन्द्रमा पुन: बाढी पसेको छ । यसअघि भदौ २४ गते विद्युतगृहमा बाढी पसेको थियो । व्यवस्थापकीय कमजोरीले विद्युत गृहमा पुन: बाढी पसेको हो ।

लेते खोल्सीमा आएको बाढी पसेपछि राम्रोसँग छेकबार नगर्दा विद्युत गृहभित्र पुन: बाढी पसेको हो । बाढी पसेपछि सरसफाई थालेकोमा पुन: बाढी पसेको जलविद्युत केन्द्रले जनाएको छ । जलविद्युत केन्द्रमा कार्यरत १५ जना बढीले सरसफाई गरिरहेका थिए । ‘सरसफाई गरिरहेका थियौं । अब बाढी आउँदैन होला जस्तो लाग्यो । पर्खाल पनि लगाएका थियौं’ केन्द्रका इन्चार्ज रमेश घिमिरेले भन्नुभयो, ‘एक्कासी पानी पर्‍यो । पानी ठूलै आयो । बाढी फेरि पस्यो ।’

उहाँका अनुसार फेरि बाढी पसेपछि सरसफाई थालिएको छ । विद्युतगृह भित्र आइतबार साँझ बाढी पसेको र त्यसपछि निरन्तर सरसफाई गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सरसफाई मात्रै गर्न सक्छौं । मेसिनभित्र के भएको हो भन्ने थाह पाउन र यसको मर्मतका लागि इन्जिनियरहरु नै आउनुपर्छ । बुटवल पावर कम्पनीबाट इन्जिनियरहरुलाई बोलाएका छौं ।’  

उहाँका अनुसार विद्युत गृहमा रहेको जेनेरेटर, टबाइन लगायत विद्युत उत्पादन गर्ने मेशिनरी सामग्रीको भित्र पानी पसेको छ । मर्मत नगरी उक्त मेशिनरी सामान संचालन गर्न मिल्दैन ।

यसअघि पनि पटक–पटक बाढीको चपेटामा पर्दै आएको खुदी जलविद्युत केन्द्र यसवर्ष एकसाताको अवधिमै २ पटक बाढीको चपेटामा परेको हो । केन्द्रका सुपरभाइजर दीपक भण्डारीका अनुसार यसपटक लेते खोल्सीको पानी ब्लक हुँदा विद्युत गृहतर्फ बाढी मोडिएको र भित्र पसेको हो । जलविद्युतमा बाढी पस्दा कति क्षति भयो भन्ने एकीन विवरण अझै भन्न नसकिने उहाँले बताउनुुभयो । 

जलविद्युत केन्द्रले बर्खायाममा दैनिक (२४ घण्टा) १ लाख युनिट विद्युत उत्पादन गर्दै आएको छ । बर्खायाममा प्रतियुनिट ४ रुपैयाँमा पीपीए (विद्युत खरिदविक्री सम्झौता) गरिएको सो आयोजना १ दिन बन्द हुँदा मात्रै ४ लाख घाटा पर्छ । यसअघि २०६५ मा खुदी खोलाको बाढी विद्युतगृहमा पस्दा ५ महिना विद्युत उत्पादन बन्द भएको थियो । ठेकेदार कम्पनीका एकजनालाई समेत बगाएको थियो । 

झण्डै ६० करोड रुपैयाँको लागतमा निर्माण भएको खुदी जलविद्युत आयोजना २०६३ पुस १५ गते देखि सञ्चालनमा आएको हो । आयोजनामा बुटवल पावर कम्पनी (बीपीसी) को ६०, एचसीटीएचआई क्यानडाको २५ र लमजुङ विद्युत् विकास कम्पनी –लेड्को) को १५ प्रतिशत लगानी छ ।


प्रतिक्रिया