गाउँपालिकालाई नै एक्यापमा पार्न पहल

आश्विन २, २०७६ | लमजुङ

२०५० मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङ स्थापना हुँदा ८ वटा गाविसलाई संरक्षित क्षेत्रभित्र राखिएको थियो । तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषबाट संचालित तत्कालीन एक्याप अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।

तत्कालीन समय संरक्षित क्षेत्रभित्र पारेका ८ गाविस अहिले संघीय संरचना अन्तर्गत २ वटा स्थानीय तहमा बाँडिएका छन् । हाल क्व्होलासोंथर गाउँपालिका ४, भुजुङमा कार्यालय रहेको एक्यापको इलाका संरक्षण कार्यालयभित्र क्व्होलासोंथर गाउँपालिकाको ३, ४, ५, ६, ७ र ८ नं. वडा समावेश छ । १, २ र ९ नं. वडा समावेश छैन । मर्स्याङदी गाउँपालिकाको १ देखि ४ सम्म र ९ नं. वडा एक्यापभित्र पर्छ । ५ देखि ८ सम्म एक्यापभित्र पर्दैन ।

गाउँपालिका एक्यापभित्र पर्ने तर, आफ्ना वडा एक्यापभित्र नपर्ने भन्दै स्थानीयले एक्यापबाट आउने सेवासुविधा माग गरेका छन् । गाउँपालिकाका हरेक वडामा समानुपातिक ढंगबाट एक्यापको कार्यक्रम विनियोजन हुनुपर्ने उनीहरुले बताएका छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार एक्यापभित्र नपर्ने वडाका स्थानीयले एक्यापले दिने बजेट माग गर्नुभयो । ‘एक्याप क्षेत्रमा आएको बजेट समानुपातिक ढंगले गाउँपालिकाभित्रकै एउटा वडाले पाउने, अर्कोले नपाउने भन्ने हुँदैन । स्थानीयको माग ठिक पनि हो’ उहाँले भन्नुभयो, ‘एक्याप हटाउने, राख्ने, नराख्ने निर्णय केन्द्रीय सरकारको हो, मन्त्रालयको हो ।’ 

मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार एक्याप क्षेत्रभित्र नपरेका वडालाई एक्यापमा पार्न गाउँपालिकाले पहल थालेको बताउनुभयो । ‘हामीबीच कुराकानी भइरहेको छ । एक्यापको इलाका संरक्षण कार्यालयमा पनि छलफल चलेको छ । हाम्रै गाउँपालिकाभित्र पनि छलफल छलेको छ’ उहाँले भन्नुभयो, ‘हामी सकरात्मक छौं । राख्ने, नराख्ने मन्त्रालयले निर्णय गर्ने होला । कार्यापालिका बैठकमा पनि हामी छलफल गर्छौं ।’

२०४३ सालमा परीक्षणको रुपमा कास्कीको घान्द्रुकबाट सुरु भएको एक्याप परियोजना ०४९ साउन ५ गते सरकारले राजपत्रमा प्रकाशित गरी संरक्षण क्षेत्रको रुपमा स्थापना गरेको थियो । सुरुमा १० वर्षका लागि म्याद दिएकोमा त्यसपछि पटक–पटक गरी पछिल्लो समय यही माघ ५ गतेसम्म एक्यापको म्याद छ । एक्यापको म्याद थप्ने या नथप्ने भन्ने विषय चर्चामा चलिरहेको बेला लमजुङमा भने एक्यापको संरक्षण क्षेत्रभित्र आफ्नो वडालाई पनि पार्नुपर्ने माग उठेको हो ।

एक्याप इलाका संरक्षण कार्यालयका संरक्षण अधिकृत राजेशप्रसाद गुप्ताले क्व्होलासोंथर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाभित्र पर्ने तर, एक्याप क्षेत्रभित्र नपर्ने वडाले एक्याप क्षेत्रभित्र पारिदिन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुले माग गरेर आएमा हामी केन्द्रीय कार्यालयमा पठाउँछौं ।’ एक्याप इलाका संरक्षण कार्यालय भुजुङको लागि चालू आर्थिक वर्षमा ३ करोड ६६ लाख ७४ हजार रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत भएर आएको छ । प्राकृतिक स्रोतको संरक्षण, पूर्वाधार विकास, स्थानीयको आयआर्जनमा उक्त कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया