रैराङ हाइड्रो पावरद्वारा परीक्षण उत्पादन सुरु

आश्विन २, २०७६ | पाँचथर

रैराङ हाइड्रो पावरले आजबाट परीक्षण उत्पादन सुरु गरेको छ । ९ दशमलव ३ मेगावाट क्षमताको सो आयोजनाले बिहीबारदेखि औपचारिक उत्पादन सुरु गरेको हो । पाँचथर र ताप्लेजुङको सीमाना पर्ने इवाखोलामा निर्माण गरिएको सो आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो ।

झण्डै १ महिना परीक्षण गरेपछि कावेली करिडोरको अमरपुर सवस्टेन मार्फत सो आयोजनामा उत्पादित बिजुली केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । परीक्षण उत्पादनका क्रममा नेपाल विद्युत प्राधिकरणले ग्रिडको फिडब्याक दिएपछि नियमित उत्पादन थालेका सो आयोजनाका निर्देशक कुवेरमणी नेपालले बताउनुभयो । 

आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभीएको प्रशारण लाइन मार्फत काबेली बी वानको आयोजना स्थल (३.५ किलोमिटर) मा ल्याएर त्यहाँबाट कावेली बी वानबाट उत्पादन हुने विद्युतसंगै संयुक्त ट्रान्समिसन लाइन (५ कि.मी) मार्फत काबेली करिडोरको थापाटार सवस्टेशनमा पुर्‍याएर केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । 

२०७० सालमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेको आयोजनाको प्रभावित जिल्लाहरु ताप्लेजुङ र पाँचथरका सर्वसाधारणको लागि यस अगाडि नै १० प्रतिशत शेयर बिक्री खुलाएको थियो । आयोजनाले पाँचथर र ताप्लेजुङको प्रभावित क्षेत्रका स्थानीयलाई ग्रामीण विद्युतिकरणको लागि ४० लाख रुपैयाँ बराबवरको पूर्वाधारमा सहयोग गरेको छ । स्थानीय मोटरबाटो, विद्यालयहरुमा सहयोग लगायतका सामाजिक उत्तरदायित्वका काम समेत गरिसकेको आयोजनाले जनाएको छ ।  

अधिकतम ९ दशमलव ९ मेगावाट उत्पादन गर्ने आयोजनाले हिउँदको समयमा समेत ३ मेवा विद्युत उत्पादनको लक्ष्य राखेको छ । १ सय ६० करोड रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाको १ सय ४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्था मार्फत लगानी भईरहेको छ । ५६ करोड रुपैयाँ इक्विटी मार्फत लगानी गरिएको छ । यस आयोजनाका लिडिङ बैंकहरुमा बैंक अफ काठमाण्डु, सिटिजन बैंक, सिदार्थ बैंक, माछापुच्छ्रे बैंक तथा एनसीसी बैंक रहेका छन् । 

३३ केभीएको कावेली करिडोर निर्माण सकिएपछि स्थानीय स्तरमा उत्पादन भएको बिजुली केन्द्रीय प्रशारणमा जोड्ने बाटो खुलेसँगै यस क्षेत्रका आयोजनाले धमाधम बिजुली उत्पादन थालेका हुन् । केहिदिन अघि मात्रै पाँचथर ताप्लेजुङको सिमावर्ती कावेली खोलामा निर्मित कावेली बी वानले परीक्षण उत्पादन थालेको थियो । 


प्रतिक्रिया