बुढासुव्वा गोल्डकप मंसिरमा हुने

आश्विन ४, २०७६ | सुनसरी

बुढासुव्वा गोल्डकप फुटवल प्रतियोगिताको २२ औं संस्करण आगामी मंसिरमा हुने भएको छ । धरान फुटबल क्लबद्वारा आयोजना हुँदै आएको प्रतियोगिताको आगामी मंसिर १९ गतेदेखि २८ गतेसम्म धरान–१६ स्थित धरान रङ्गशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मिति छनौट गरेपछि धरान फुटबल क्लबले मंसिर लक्षित तयारी सुरु गरेको आयोजक क्लबका महासचिव प्रताप तामाङले बताए । यसअघि एन्फाले बुढासुव्वा गोल्डकप फुटबल प्रतियोगिता लगायत मोफसलका फुटबल प्रतियोगिताको खेल तालिकाका लागि निश्चित क्यालेण्डर निर्धारण नगर्दा चैतसम्म पुग्ने गरेको थियो । 

महासचिव तामाङले यसै वर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताहरुको लागि एन्फाले नियमावली बनाई सोही अनुसार प्रतियोगिता आयोजना गर्न आयोजकहरुलाई जानकारी गराई सकेकाले बुढासुव्वा गोल्डकपको तयारी गतवर्ष भन्दा तीन महिना अघि नै सुरु गरेको बताए । 

उनले भने, ‘एन्फाले खेल तालिका उपलव्ध गराएपछि धरान फुटबल क्लबको ०७६ असोज २ गते बसेको कार्यसमितिको बैठकले एन्फाले प्रस्ताव गरेको प्रतियोगिताको मितिहरु मध्ये २०७६ मंसिर १९ गते देखि २८ गते सम्मको समयलाई २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाको मिति छनौट गरेको हो ।’

आयोजक क्लबले प्रतियोगिताको पूर्व तयारीका लागि विभिन्न उप– समितिहरु पनि गठन गरेको छ । क्लबका सदस्य नरेन्द्र चाङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उप–समिति, क्लबका सचिव सुदिप उप्रेतीको संयोजकत्वमा २ सदस्यीय मैदान ममर्त उप–समिति, सतिष केसीको संयोजकत्वमा तीन सदस्यीय टिम तथा होटल व्यवस्थापन उप–समिति, महासचिव प्रताप तामाङको संयोजकत्वमा दुई सदस्यीय प्रचार प्रसार उप–समिति पनि गठन गरिएको छ ।

आयोजक क्लबले बुढासुब्बा गोल्डकपको २२ औं संस्करणमा प्रतियोगिताको पुरस्कार राशीमा पनि वृद्धि गर्ने जनाएको छ । 


प्रतिक्रिया