एन्फा एकेडेमी कपको उपाधि धरानलाई

आश्विन ४, २०७६ | सुनसरी

एन्फा एकेडेमी म्यानेजमेन्ट कमिटी धरानद्वारा आयोजित प्रथम प्रदेश १ स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि धरानको एन्फा एकेडेमी जितेको छ । शनिबार सम्पन्न फाइनलमा मोरङको एम्ब्रीय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै धरानको एन्फा एकेडेमीले उपाधि जितेको हो । एन्फा एकेडेमीले उपाधिसँगै ५० हजार नगद पुरस्कार जितेको छ । उपविजेता एम्ब्रीय एकेडेमीले नगद २५ हजार नगद जितेको छ ।

प्रतिस्पर्धात्मक खेलमा एन्फाका आयुष गुरुङले निर्णायक गोल गरेका थिए । एम्ब्रीय एकेडेमीका डिफेन्सले एन्फा एकेडेमीका खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई एन्फाका आयुष गुरुङले गोल गर्न चुके । उनको प्रहार पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्ब्रीय एकेडेमीका सन्देश सुब्बा घोषित हुँदै २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एन्फा एकेडेमीका आयुष गुरुङले नगद ३ हजार र ट्रफि र मेडल जिते । प्रतियोगिताको उत्कृष्ट फरवार्ड एम्ब्रीयका कोमल थापा मगर घोषित भए । प्रतियोगितामा एन्फा एकेडेमीका युनिस बुढाथोकी उत्कृष्ट डिफेन्स, असिमजंग कार्की उत्कृष्ट मिडफिल्डर र कृषल मोक्तान उत्कृष्ट गोल किपर घोषित भए ।

उनीहरुलाई जनही नगद ३ हजार पुरस्कार दिइएको थियो । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एन्फा एकेडेमीका सुमन श्रेष्ठ घोषित भए । उनलाई नगद ५ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रदेश १ का १० वटा फुटबल एकेडेमीले सहभागीता जनाएका थिए ।

एकेडेमी स्तरीय प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्ने कमिटिका अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले बताए । उनले प्रतियोगिताले एकेडेमीमा फुटबल सिक्दै गरेका युवाहरुलाई थप प्रोत्साहित गरेको बताए । होम एण्ड अवेको आधारमा फुटबल खेल्ने गरी एन्फा एकेडेमी धरान विभिन्न क्लबकै होम ग्राउण्डमा आउने बताए । उनले आगामी वर्ष एन्फा कप भव्य रुपले आयोजना हुने र फाइनलमा पुगेका दुई टिमले विदेशमा पुगेर गेम खेल्ने अवसर पाउने उनले विश्वस्त पारेका थिए ।


प्रतिक्रिया