राष्ट्रपति सीको भ्रमण सुरक्षाबारे चीनको चासो 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको सुरक्षा योजना बारे गृहमन्त्री रामबहादुर थापा, नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी र ४ वटै सुरक्षा निकायका उच्च अधिकारीबीच छुट्टाछुट्टै छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणका बेला नेपाल सरकारले गरिरहेको सुरक्षा व्यवस्था बारे जानकारी लिनुभएको थियो ।

यस्तै चिनियाँ राजदुत हाउसँगको भेटपछि गृहमन्त्री थापाले नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेनका प्रतिनिधीसँग सुरक्षा रणनितिका बारेमा छलफल भएको छ ।

चीनका राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने भनिए पनि सरकारले भने मिति सार्वजनिक गरेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर इकाई सक्रिय छन् ।

पहिलो चरणमा सुचना संकलनका लागि मात्र गृहले ४ वटै सरक्षा निकायका गरी ४ सय बढी अधिकारी परिचालन गरेको छ ।

प्रारम्भिक छलफलमा सीको सुरक्षामा सेनाका अधिकृत तहका बिशेष तालिम प्राप्त अधिकारी खटाउने, नेपाल प्रहरीले भेटघाट र बस्ने स्थानको सुरक्षा प्रबन्ध र स्कर्टिङ गर्ने, पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले पहरा दिने तथा पैदल गस्तीसमेत गर्ने र राष्ट्रिय अनुसन्धान विभागले गुप्त सुचना संकलन गर्ने गरी सुरक्षा योजनाको तयारी थालिएको गृहमन्त्रालयका एक अधिकारीले रेडियो कान्तिपुरलाई बताए ।    

 


प्रतिक्रिया