उद्योगमा बिजुली पुर्‍याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण तीब्र

आश्विन ५, २०७६ | काठमाडौं

- प्रदेश ५ को रुपन्देही तथा पश्चिम नवलपरासी र गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा सञ्चालित र उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आगामी दिनमा खुल्ने उद्योगलाई समेत मध्यनजर गरेर प्रसारण लाइन र सबस्टेसनको काम भइरहेको हो ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी  सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नु पर्ने छ ।

भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको विद्युत प्राधिकरकणले जनाएको छ ।

चिनियाँ लगानीमा खुलेको होङशी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति करिब ४५ प्रतिशत छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुादा पर्याप्त विद्युत नपाएको गुनासो आएपछि आयोजनाहरुको निर्माणस्थल  निरीक्षण गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र र मैनहिया सबस्टेसनको काम पुसभित्र सक्न निर्देशन दिनुभएको छ । प्रसारण लाइन र सबस्टेसनका ठेकेदार कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । २४६ टावरमध्ये १८०को जग हालिएको छ भने १५१ खडा गरिएको छ ।


प्रतिक्रिया