ट्राफिक जामको समस्या हल गर्न विकासको नीति सच्याउनुपर्छ : गृहमन्त्री

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- गृहमन्त्री रामबहादुर थापाले नीति निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्न नसकेकाले ट्राफिक जामको समस्या भएको बताउनुभएको छ ।

महानगरीय ट्राफिक महाशाखाले आज काठमाडौंमा आयोजना गरेको ‘ट्राफिक स्वयम्सेवक परिचालन’ शुभारम्भ कार्यक्रममा उहाँले बढ्दो सहरीकरणसँगै उपत्यकामा देखिएको ट्राफिक जामको समस्यालाई हल गर्न विकासको नीतिलाई सच्याउनु पर्ने बताउनुभयो ।

ट्राफिकसम्बन्धी विषयलाई विकासको योजनासँग जोडेर हेर्नु जरुरी रहेको बताउँदै गृहमन्त्री थापाले विकासका नीति निर्माता र योजनकारहरुलाई त्यस दिशामा सोच्न पनि आग्रह गर्नुभयो । 

यस्तै, कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताउनुभएको छ । उहाँले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बताउनुभयो ।  

यसैबीच, संघीय राजधानीमा बढ्दो ट्राफिक जामलाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ अभियानको शुरुवात गरेको छ । बढ्दो सवारी साधनको संख्या सिमित सडक र प्रबिधिको अभावका कारण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक ब्यवस्थापन गर्न असहज हुन थालेपछि महाशाखाले ट्राफिक स्वयम सेवक परिचालन अभियान शुरु गरेको हो ।

राष्ट्रिय युवा परिषद तथा युएन नेपालको संयुक्त आयोजनामा २३ स्कुल/कलेज, २ क्लव, १६ यातायात कम्पनी, १० जना ख्यातीप्राप्त कलाकार, १२ जना एयरहोस्टेज गरी ५ सय जना परिचालन गरिने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिनुभयो । १५ दिन सम्म ५ सय ट्राफिक स्वयम सेवकहरु काठमाडौं उपत्यकाका बिभिन्न सडकमा सचेतना जगाउने छन् । 


प्रतिक्रिया