चाडपर्वमा सुरक्षा व्यवस्था सुदृढ बनाउने गृहमन्त्रीको प्रतिबद्धता

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

- गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठ पर्वका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री थापाले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको जानकारी गराउनुभयो ।

समिति सदस्यको प्रश्नको जवाफमा उहाँले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताउनुभयो । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले जानकारी गराउनुभयो ।

भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने मन्त्री थापाको भनाई थियो । 

बैठकमा गृहसचिव प्रेमकुमार राईले पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नेपालमा नचल्ने भएकाले ती नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको बताउनुभयो । ती नोट चलन गर्न पाइने हो कि होइन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेकाले समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

आसन्न चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीका विषयमा राज्य व्यवस्था समितिले गृह मन्त्रालयलाई बोलाएर छलफल गरेको हो । सरकारले चाडपर्वलाई लक्षित गर्दै सुरु गरेको विशेष शान्ति सुरक्षाको योजना हिजो सार्वजनिक गरेको थियो ।

 


प्रतिक्रिया