सुरु भयो नौबिसे - नागढुङ्गा सडक 'टालटुल'

आश्विन ७, २०७६ | धादिङ

 नौबिसे–नागढुङ्गा सडक मर्मत सुरु भएको छ । वर्षका ११ महिना सुतेर बस्ने ठेकेदार कम्पनी जीएमआर यतिबेला भने नौबिसे–नागढुङ्गा सडक मर्मतमा लागेको छ । गत असार मै जीर्ण बनेको सडक मर्मत गरी सक्नु पर्ने भएपनि सो कम्पनीले दशैं नजिकिएसँगै बल्ल सडक मर्मतमा जुटेको छ ।

दशैं–तिहारको मुखमा राजधानी छिर्ने मालबाहक सवारी साधनहरुको चाप यसै पनि बढ्दै छ । राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरेको वर्षदिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै जीर्ण हुन थाल्छ ।

हरेक वर्षका चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर, खाल्डा परेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन । मापदण्ड विपरीत भार बोकेका मालबाहक साधनहरुले साना सवारी साधनहरु सडकमा गुडन नमिल्ने गरी भत्काउन सुरु गर्छन् । 

अत्यधिक वर्षातका कारण असार महिनामा काम गर्न सकिएन । वर्षात नभए बिहीबार सम्म मर्मत सकिने निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले बताउनुभयो । नौबिसे–नागढुङ्गा सवारी जाम हटाउने उपाय यति मात्रै हैन । गत शुक्रबार देखि थालनी गरिएको सडक मर्मतले धादिङ तर्फ ३० किलोमिटर सम्म सवारी जाम हुने गरेको छ । 

नोबिसै भएर काठमाडौं पस्ने उकालो बाँया लेनका विभिन्न स्थानमा खाडल पर्दा निकै जीर्ण छ । मालबाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन् । हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन विभिन्न स्थानमा धस्सिदा खाल्डा बनेर साना सवारी साधानलाई सडक प्रयोग गर्न नमिल्ने बनाएका हुन् । 

सडक टालटुल गर्ने प्रचलन नौलो होइन । गत वर्ष पनि दशैं आउनु पूर्व खाल्डाखुल्डी पुरिएको थियो । यो वर्ष पनि त्यस्तै भइरहेको छ । उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ । 

त्रिभुवन राजपथको भारवहन क्षमता दस टन बराबर छ । तर, १५ देखि ४० टनसम्म भार बोकेका गाडी यो सडक भएर काडमाडौं छिर्छन् । यसै कारण देब्रे लेनमा बढी असर परेको हो । रातको समयमा चल्ने टिपरले पानी चुहाउँदै बालुवा बोक्ने भएकाले पनि सडक बिग्रने समस्या झनै बढेको हो ।

गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मत काम अझैसम्म नसकिँदा दशैं–तिहारमा राजधानी भित्रिने र बाहिरिने यात्रुलाई समस्या भएको छ । मर्मत नसकिएकाले हतार–हतारमा टालटुल गर्न थालिएको हो । नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा जीअएमआर कन्स्ट्रक्सनले पाएको छ । चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बाध्य भएर खाल्डा खुल्डीमा कालोपत्रे हाल्न थालिएको हो । बढी जाम हुने पीपलामोड, खत्रीपौवा, सिक्रेखोला, झ्याप्ले खोला, टायल घर लगायतका मोडका खाल्डा खुल्डी टालिएको छ ।

चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी गरी मर्मत थालिएको भने पनि यात्रु घण्टौं जाममा बस्नुपरेको छ । नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे हम्मे पर्न थालेको छ । 


प्रतिक्रिया