विपदबाट १० वर्षमा ११ सयको मृत्यु

आश्विन ७, २०७६ | बुटवल

प्रदेश ५ मा विपदबाट हुने क्षति वर्षेनि बढ्दै गएको छ । विपद विरुद्ध पूर्व तयारी र दीर्घकालिन विपद् व्यवस्थापन योजना नहुँदा क्षति बढ्दै गएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा प्रकोपबाट एक हजार एक सय जनाले ज्यान गुमाएका छन् ।

विपद्मा परी ११ हजार जना घाइते भएका छन् । सन् २०११ देखि २०१९ सम्म त्यहाँका १२ जिल्लामा भएका घटनाहरु अभिलेखीकरण गरी मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको हो । यसअवधिमा विपदबाट एक लाख ८० हजार परिवार प्रभावित भएका छन् ।

एक लाख ४० हजार घरहरु क्षतिग्रस्त भएका छन् ।  विपद्बाट २१ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा बाढी पहिलो, आगलागी दोस्रो र पहिरो तस्रोमा छन् । यसअवधिमा प्रदेशमा ११ हजार वटा विपद आएको तथ्यांक छ । १० वर्षअघि दुई सय वटा विपद् आएकोमा यसवर्ष बढेर २ हजार पुगेको छ ।

आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जनयुद्धबाट भन्दा धेरै प्राकृतिक विपद्बाट जनधनको क्षति भएको बताउनुभयो । ‘विपद्को जोखिममा गरीब, विपन्न, दलित, अल्पसंख्यक धेरै प्रभावीत रहेछन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुको सुरक्षाका लागि छुट्टै नीति आवश्यक छ ।’

मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले विकाससँगै विपद्को जोखिम र संख्या बढ्दै गएको बताउनुभयो । विकासले निम्त्याउने प्राकृतिक विपद् कम गर्न विकासमा विपद्को मूल प्रवाहिकरण नीति तर्जुमा थालेको उहाँको भनाइ छ । 


प्रतिक्रिया