मेलम्ची 'एक वर्ष' टाढा

आश्विन १२, २०७६ | काठमाडौं

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम १ वर्ष भित्र सक्नेगरी चिनियाँ कम्पनीसँग आज सम्झौता गरेको छ । लामो समयदेखि अन्यौलमा रहेको आयोजनाको काम दशै पछि असोज २६ गतेबाट सुरु गर्ने गरी ८५ करोड रुपैयाँमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो ।

चिनियाँ कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण र फिनिसिङको काम गर्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । यसअघि आयोजनाबाट हात झिकेको इटालियन कम्पनी सीएमसीसँग आवद्ध श्रमिकहरुलाई पारिश्रमिक सहितको बाकी ३ करोड रुपैयाँ भुक्तानी दिने सहमति पनि भएको पन्तले बताउनुभयो ।

हेर्डवक्सतर्फको कामका लागि पनि सिनो हाइड्रोसँग पनि केही दिनमै सम्झौता गर्ने आयोजनाले जनाएको छ । सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा रहेका बेला ईटालियन कम्पनी सीएमसी टाट पल्टेको भन्दै काम छाडेर भागेपछि काठमाडौंबासीको दशकौं देखिको मेलम्चीको पानी पिउने चाहना पुन: अन्योलमा परेको थियो ।

पटकपटक छलफल पछि पनि सीएमसीले काम नफर्कने अडान लिएपछि सरकारले बांकी काम सम्पन्न गर्न चिनियाँ हाईड्रो संग नयाँ सम्झौता गरेको हो । 


प्रतिक्रिया