चालकलाई प्रशासनको फूलमाला : 'यात्रुलाई सकुशल पुर्‍याउनू’

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७६ | काठमाडौं

डोटी/पर्वत — दसैंका बेला दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय पर्वत र डोटीले चालकलाई फूलमाला लगाएर सचेत गराएका छन् । सधैँ ट्राफिक प्रहरीको जाँचमा पर्ने चालकहरू फूलमालासहित शनिबार गन्तव्यतिर लागे । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सचेत गराए ।

दिपायलको पिपल्लास्थित रामबाबु चिया पसलमा बिहानैदेखि होहल्ला गर्दै गफिने चालक र सहचालक शनिबार गम्भीर थिए । निधारमा अबिर र घाँटीमा फूलमाला पहिरिएर उनीहरू प्रहरी पोस्ट नजिक शान्त मुद्रामा बसेका थिए । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शनिबार बिहानै उनीहरूलाई प्रहरी पोस्टमा बोलाएका थिए ।

प्रजिअले पालैपालो अबिर लगाइदिए, फूलमाला पहिर्‍याए । पहिलो पटक सीडीओबाट सम्मान पाएकोमा दंग परेका चालकहरूले उनका कुरा गम्भीर भएर सुने ।
‘चाडबाडका बेला हुने सडक दुर्घटनाले डोटीमा सयौंको घरबार उजाडिएको छ, थुप्रैको जीवन अपांग बनेर मर्नु न बाँच्नुसरह बनेको छ,’ प्रजिअ पौडेलले उनीहरूलाई सम्झाउँदै भने, ‘विगतमा जे भयो त्यो बिर्सिदिनुस्, अब यात्रीहरूलाई गन्तव्यमा सुरक्षित पुर्‍याएर उनीहरूको चाडपर्वसमेत हर्षोल्लास पार्ने जिम्मेवारी तपाईंहरूकै काँधमा छ ।’ प्रजिअले यात्रुहरूका भगवान तपाईंहरू नै हो भनेर प्रशंसा गर्दा चालकहरू हर्षित भएका देखिन्थे ।
चालकहरूलाई सम्झाइबुझाइ गर्न प्रजिअ पौडेलले निकालेको जुक्ति देखेर दिपायलका स्थानीय व्यापारीहरू पनि खुसी भएका छन् । ‘कानुनको डन्डा चलाउनुभन्दा यसरी सम्झाइबुझाइ गरेर जिम्मेवार बनाउनु पनि प्रशासनको कुशलता हो,’ डोटी च्याम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले भने, ‘सबैले फटाहा भनेर दुत्कारेपछि उनीहरू झन् बढी गैरजिम्मेवार हुन्छन् । सीडीओ सा’पले उदाहरणीय तरिका अपनाउनु भएको छ ।’
चालकहरूले पनि सम्मानले आफूहरूलाई थप सचेत बनाएको बताए । चालक रमेश बोगटीले जानीजानी कसैले दुर्घटना नगर्ने बताउँदै कहिलेकाहीं हुन सक्ने लापरबाहीप्रति पनि सचेत हुनैपर्ने बताए । जिल्ला प्रहरी कार्यालय डोटीले चाडबाडका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि दिपायलमा शनिबार प्रहरी-समुदाय साझेदारी कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रजिअसहित अतिथिहरूका लागि ल्याइएका फूलमाला सीडीओ पौडेलले चालक र सहचालकहरूलाई पहिर्‍याइदिएका हुन् । क्षमताभन्दा बढी यात्रु नओसार्न, यात्राका क्रममा मदिरा सेवन नगर्न र यात्रुहरूसँग नम्र भएर प्रस्तुत हुन उनले आग्रह गरेका थिए ।
विगतका वर्ष चाडबाडका बेला डोटीमा सवारी दुर्घटना भएका छन् । चालकहरूकै लापरबाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले अझै प्रभावकारी कार्यक्रमहरू चलाउन सकेको छैन । ‘यस्ता सिर्जनशील जनचेतनामूलक कामले चालकहरूलाई सजग रहन हौसला दिन्छ,’ शैलेश्वरी सार्वजनिक यातायात समितिका अध्यक्ष गणेश मलासीले भने, ‘चालकहरूलाई हेर्न दृष्टिकोण नकारात्मक छ । उनीहरूलाई घृणा होइन माया गर्‍यौं भने धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुन्छ ।’ गल्ती गर्ने चालक र सहचालकलाई कडा कारबाही गर्नका लागि आफूहरू प्रशासनलाई सहयोग गर्ने उनले प्रतिबद्धता गरे ।
जिल्ला ट्राफिक प्र्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा १२ वटा दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४३ वटा सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक मोहन धामीले बताए ।
सतर्क रही हाँक्नू

पोखराबाट बेनीतर्फ जाँदै गरेको ना७ ख ६४८६ नम्वरको बसका चालक भरत नेपाललाई आइतबार शिवालयचोकमा ट्राफिकले रोक्यो । हत्तपत्त नेपालले कागजपत्र निकाले । ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले तल ओर्लन लगाए । नेपाललाई ट्राफिक बिटमा बसेका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र डीएसपी श्यामु अर्याल लगायतले फूलमाला लगाइदिए । सुरक्षित यात्रा र दसैंको शुभकामनासहित भव्य स्वागत गरेर बिदाइ गरे । नेपालसहित ६ सवारी चालकले यस्तै अपत्यारिलो अवसर पाए ।
उत्तम गुरुङ, मीनबहादुर श्रेष्ठ, निरज केसी, भूमिराज आचार्य र भीमबहादुर विकलाई फूलमाला र अबिर लगाइएको थियो ।सवारी चलाउँदा जहिले पनि ट्राफिक, प्रहरी, यात्रु लगायतको हप्किदप्की खेप्दैआएका चालकले यस्तो सम्मान पाउँदा सपनाजस्तै लागेको बताए । ‘ट्राफिकले बस रोक्दा जहिल्यै सातो जान्छ,’ सवारी चालक नेपालले भने, ‘आज यस्तो कार्यक्रम होला भनेर कल्पना गरेकै थिइनँ ।’ १४ वर्षदेखि सवारी चलाउँदै आएका नेपालले यस्तो सम्मान जीवनमा पहिलोपटक पाएको बताए । अर्का चालक भीमबहादुर विकले यो सम्मानले खुसीसँगै जिम्मेवारी थपिएको महसुस भएको बताए ।

‘अपेक्षा नगरेको कुरा पाउँदा खुसी नहुने कुरै भएन,’ उनले भने, ‘उहाँहरूको सम्मानले मलाई जिम्मेवारी पनि थपेको छ । यो मालाको अर्थ सवारी चलाउँदा थप जिम्मेवार हुनुपर्छ भन्ने बुझेको छु ।’ कार्यक्रममा सवारीचालक, यात्रु र सर्वसाधारणलाई सचेतनामूलक पर्चासमेत वितरण गरियो ।


प्रतिक्रिया